काठमाण्डु – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रममा महासचिव वैद्यले अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्य व्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए ।
‘पहिचान सहितको संघीयता भन्ने माओवादीको एउटा पक्ष सरकारमा नै छ । पुरानो राज्यसत्तालाई भत्काएर नयाँ राज्यसत्ताको निमार्णका लागि हामी जनतालाई साथ लिएर सशक्त रूपमा अगाडि बढ्न जरुरी छ,’ उनले भने, ‘जनताको बीचमा भिजेर पुरानो राज्यसत्ता, दलाल पुँजीपति वर्ग र बचेका सामन्त वर्गलाई ध्वस्त पारेर, यो संविधानलाई ध्वस्त पार्ने, यो संसदीय व्यवस्थालाई पनि अन्त्य गर्ने गरेर एउटा नयाँ संविधान लेख्ने हिसाबको सम्पूर्ण देशभक्त क्रान्तिकारीहरू र वामपन्थीहरू सबै जनालाई एकताबद्ध बनाएर एउटा गतिलो संयुक्त मोर्चा बनाउन र राम्रो जलाधार तयार पार्न जरुरी छ र यो सत्तालाई व्यवस्थाको विकल्प नयाँ संविधानको निर्माण हो र त्यो दिशामा हामी जानुपर्छ । हाम्रो पार्टीले त्यही निर्णय गरेको छ ।’
संघीयता कार्यान्वयनका लागि समेत संघर्षको विकल्प नभएको उनले बताए । उनले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार र संघको अधिकार क्षेत्र के हो ? यसमा विवाद छ । मुख्यमन्त्रीहरूको एउटा सम्मेलन भएको थियो, उनीहरूले कानून बनाउनुपर्यो भनेर संघीय सरकारसँग अनुरोध गरे, त्यो कानून अझै बनेको छैन । अहिले पनि अधिकार क्षेत्र कहाँ कसको भन्ने छैन । मधेश प्रदेशले १ महिनाको अल्टिमेटम दिएको छ ।’




प्रतिक्रिया