काठमाण्डु – सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ११ वर्ष कैद सजाय गरेको छ ।
अदालतले ३१ करोड १८ लाख ६२ हजार १७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र अर्का न्यायाधीश रामबहादुर थापाको इजलासले गत असार ६ गते बस्नेतलाई दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको छ । दोषी ठहर बस्नेत २०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए ।
सजाय निर्धारण गर्दै विशेषले व्यापारीबाट घुस लिएको कसूरमा उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको छ । मेयरको पद दुरुपयोग गरेकोमा थप ३ महिना कैद सजाय गरिएको छ । सम्पत्ति शुद्धीकरणतर्फ उनलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम भएकोमा बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना सुनाइएको छ ।
अदालतले २ करोड ६२ लाख ५४ हजार ६०६ रुपैयाँ ४६ पैसा पनि थप जरिवानाबापत सजाय निर्धारण गरेको छ । बस्नेतबाट अपराधपीडित राहत कोषमा १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।
बस्तेलाई घुस दिएको कसूरमा पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्टका अध्यक्ष राजुप्रसाद कँडेल तथा उनको संस्थाबाट जनही ९ लाख २२ हजार ४६० रुपैयाँ अपराधपीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ ।
पद्मा कोलोनीका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको भन्दै विशेषले गत असार ६ गते दोषी ठहर गरेको थियो ।




प्रतिक्रिया