प्रचण्डलाई लक्षित गर्दै मोहन वैद्यले भने : मूल नेतृत्वको गद्दारीले जनयुद्धमा धक्का खायो

प्रचण्डलाई लक्षित गर्दै मोहन वैद्यले भने : मूल नेतृत्वको गद्दारीले जनयुद्धमा धक्का खायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको बताएका छन् ।

२५औं जनयुद्ध दिवसको अवसरमा बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त भने नभएको बताएका छन् । ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ,’ उनले भनेका छन् ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै वैद्यले भनेका छन्, ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।’

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारी पार्टीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न वैद्यले आह्वानसमेत गरेका छन् ।