काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक अधिकार गुमाइसेको भन्दै राजीनामा माग गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको जनाइएको छ ।
‘अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत, उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन’, महासचिव मोहन वैद्य ‘किरण’द्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री केपी ओलीको अविलम्ब राजीनामाको माग गर्दछ ।’
क्रान्तिकारी माओवादीले सरकारले राष्ट्रिय सहमति जुटाउनु पर्नेमा सरकारले संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्रै बोलाएको भन्दै विरोध जनाउनुका साथै अतिसंवेदनशील विषयमा सबै पक्षसित राष्ट्रिय सहमति गर्न अनुरोध गरेको छ ।
लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसम्मको भूभाग र त्यस अतिरिक्त सुस्ता, महेशपुरलगायत सीमा क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिँदै आएको हस्तक्षेपको विरोध गर्दै पार्टीले र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि समग्र नेपाली भूभागलाई समेटी शीघ्रातिशीघ्र नेपाली नक्साको सार्वजनिक गर्न, लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्ब सुरक्षाफोर्सको तैनाथ गर्न, नेपालको सीमा क्षेत्रमा तारबारका लागि यथाशीघ्र पहल गर्न र नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत जोडदार माग गरेको छ ।




प्रतिक्रिया