कांग्रेस महामन्त्रीले ‘ठूलो स्वर’ मात्र गरे, काम गरेनन् : मोहन बस्नेत

कांग्रेस महामन्त्रीले ‘ठूलो स्वर’ मात्र गरे, काम गरेनन् : मोहन बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् ।

नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको बहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए ।

उनले महाधिवेशनको तयारीका लागि महामन्त्री गगन कुमार थापालाई  जिम्मेवारी दिएको तर उनले जिम्मेवारी पूरा नगरेको बताए ।

‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा निजी सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तैपनि क्रियाशीलता टुंगिएको छैन । यो सबैभन्दा ठूलो कमजोरी हो । महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन । क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ । अहिले ठूलो स्वर उहाँकै छ,’ उनले भने ।  

महामन्त्रीले अब ठूलो स्वर नगरी र आफ्नो कमजोरीलाई ढाकछोप नगरी चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानविनको काम टुंगाउनुपर्ने बताए ।

नेपाली कांग्रेस नेपालको अभिभावक र सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय समस्याहरू समाधान हुने दाबी गरे । ‘आजसम्म नेपालको इतिहासमा कुनै पनि किसिमको आन्दोलनको नेतृत्व कांग्रेसले गर्दाखेरी हालको जस्तो अवस्था भएको थिएन् । कांग्रेसकै नेतृत्वमा समस्याको समाधान भएका छन् । त्यसैले अब जेनजीहरूलाई नि समेट्ने गरी काम गर्न जरुरी छ,’ उनले भने ।

महाधिवेशनबारे पार्टीको विधान, कार्ययोजनाअनुसार म्याद थप गर्न सकिने उनले बताए । ‘आजसम्मको इतिहासमा १ वर्ष म्याद थपिएकै हो । ४ वर्ष विधानले दिन्छ । १ वर्ष थप्न सकिन्छ र विशेष परिस्थिति आयो भने अर्को ६ महिना पनि थप्न सक्ने स्थिति हो । तर त्यसरी जानुपर्ने परिस्थिति सिर्जना भएको छैन,’ उनको भनाइ छ ।

अहिले विशेष महाधिवेशनको माग गरेर नयाँ पुस्तालाई समेट्ने र परिवर्तन ल्याउने नाममा गलत प्रक्रिया भइरहेको उनले बताए । यस्तो प्रक्रियाले तल्लो तहदेखिको अधिवेशन रोकिने वा प्रभावित हुने उनको भनाइ छ ।

‘वडादेखि पालिका, क्षेत्र, प्रदेश अथवा जिल्ला हुँदै महाधिवेशन प्रक्रियामा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनले त्यो प्रक्रिया सबै रोकिन्छ । त्यो अप्रजातान्त्रिक हुन्छ, गैरजिम्मेवार हुन्छ । त्यसैले विशेष महाधिवेशन सम्भव छैन र नियमित महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा सबैले जोड दिनुपर्छ,’ उनले भने ।

उनले कांग्रेस बैठकबाट निकास निस्किन नसकेपछि नेताहरु भाग्न थालेको आरोप पनि लगाए । उनले महामन्त्रीहरू पनि बैठकबाटै भाग्न थालेको दाबी गरे ।

नेता बस्नेतले देशको स्वाभिमानमाथि भएको आक्रमणलाई कांग्रेसले प्रतिकार गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्ने बताए । कांग्रेस पार्टी जनमतमा विश्वास गर्ने भएकाले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताउँदै उनले सरकारले शान्ति सुरक्षाको अनुभूति हुने गरी निष्पक्ष ढंगबाट चुनाव गराउने वातावरण बनाउन जरुरी रहेको बताए । तर निर्वाचन नभए मुलुक अन्योलमा फस्ने भएकाले चुनाव अपरिहार्य भएको बताए ।