नेपालले एमसीसी स्वीकार्दा परराष्ट्र नीतिको उल्लंघन हुन्छः मोहनविक्रम सिंह

नेपालले एमसीसी स्वीकार्दा परराष्ट्र नीतिको उल्लंघन हुन्छः मोहनविक्रम सिंह


काठमाडौं – नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डो प्यासिफिक रणनीतिकै अंग रहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकारहरुमाझ अर्धभूमिगत रहेका महामन्त्री सिंहले एमसीसी स्वीकार्दा नेपालको परराष्ट्र नीतिको उल्लंघन हुने दाबी गरेका छन् ।

‘एमसिसी इन्डो प्यासिफिककै अंग हो । अमेरिकी साम्राज्यवादी स्वरुपको इन्डो प्यासिफिककै अंग भएकाले यसलाई नेपालले स्वीकार्नु हुँदैन’, उनले भने, ‘एमसिसी इन्डो प्यासिफिकको अंग रहेको कुरा स्वयम् अमेरिकाले पनि स्वीकारिसकेको छ । यो आउँदा नेपालको असंलग्न नीतिविपरीत हुन्छ । यसले हाम्रो परराष्ट्र नीतिमा असर गर्छ ।’

महासचिव सिंहले कालापानी, लिम्पियाधुरासहितको भूभाग हडपेर भारतले नेपाललाई सिक्किमको बाटोमा लैजान खोजेको आरोप लगाए ।

‘कालापानी–लिम्पियाधुरा मात्रै होइन, भारतले नेपाललाई सिक्किम बनाउन चाहेको छ’, उनले भने, ‘भारतको यही विस्तारवादी नीतिको हामीले विरोध गरेका हौँ। भारतले यसलाई नसच्याएसम्म हामी विरोध गरिरहन्छौँ । भारतको विरोध सत्तामा जानैका लागि भएको होइन। नेपाल विरोधी गतिविधि भइरहेसम्म विरोध जारी रहन्छ ।’

अझै अर्धभूमिगत महासचिव सिंहले आफू र आफ्ना केही नेता अझै अर्धभूमिगत रहेको बताए । उनले अहिले पार्टीले सञ्चारकर्मीमाझ् मात्रै सार्वजनिक हुने निर्णय गरेको बताउँदै कुनै खुला जनसभा नगर्ने जानकारी दिए ।

‘म अझै पनि अर्धभूमिगत अवस्थामा छु । सम्पूर्णरुपमा खुला भएको होइन, हामी खुला सभामा जाँदैनौँ । मिडियामा मात्रैमा जाने भनेका छौँ’, उनले भने, ‘बढी भन्दा बढी जनताकाबीचमा हाम्रा विचार राख्छौँ ।’

उनले देशको अवस्था अझै गम्भीर रहेको बताए । ‘देशको स्थिति गम्भीर छ । राणा शासन, पञ्चायती व्यवस्थामा देश गम्भीर थियो । त्यविरुद्ध पनि संघर्ष गर्‍यौँ’, उनले भने, ‘शाही शासनविरुद्ध पनि लड्यौं । हामीले यी सबै गम्भीर अवस्था छिचोल्यौँ । अहिले पनि देश गम्भीर अवस्थामा छ । प्रतिगामी शक्तिहरु सल्बलाइरहेका छन् । त्यसैले हाम्रो संघर्ष जारी रहन्छ ।’