सी विचारधारा र चीनको समाजवाद दुवै गलत छन्ः मोहनविक्रम सिंह


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने बताएका छन् ।

महामन्त्री सिंहले भनेका छन्, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

सी स्वदेश फर्किएपछि दुई देशले जारी गरेको संयुक्त वक्तव्यको भने उनले समर्थन गरेका छन् । वक्तव्यमा उल्लेख सी विचारधारा र चीनको विशेषतासहितको समाजवाद दुवै गलत भएको महामन्त्री सिंहको ठहर छ ।

‘चीनका राष्ट्रपति सीको भ्रमणका बेलामा जुन वक्तव्य जारी गरिएको छ, हाम्रो पार्टीले सामान्यतः त्यसलाई समर्थन गर्दछ । त्यसबाट नेपालको विकासमा मद्दत पुग्नुका साथै भारतमाथिको नेपालको एकतर्फी निर्भरतालाई कम गर्न पनि मद्दत पुग्नेछ भन्ने हामीले विश्वास गरेका छौं,’ विज्ञप्तिमा सिंहले लेखेका छन्, ‘तर त्यो वक्तव्यमा सीको विचारधारा तथा चीनको विशेषता सहितको समाजवादको जुन चर्चा गरिएको छ ती दुवै गलत छन् र हामीले तिनीहरुको विरोध गर्दछौं ।’

मसालका महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले इण्डो–प्यासेफिक रणनीतिको सेवा गरेको आरोप पनि लगाएका छन् । प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने तयारी गरेको भन्दै उनले त्यसको विरोध गरेका हुन् । अमेरिकाको इन्डो–प्यासिफिक रणनीति दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा प्रभूत्व कायम गर्ने उद्देश्यद्वारा निर्देशित रहेको र एमसीसी त्यसैको एउटा उपकरण भएको सिंहको भनाइ छ ।

‘आफ्नो साम्राज्यवादी रणनीतिलाई पूरा गर्नका लागि नै अमेरिकाले एमसीसीलाई पारित गराउन नेपाल सरकारमाथि दवाव दिइरहेको छ । त्यो अवस्थामा अमेरिकी दवावमा आएर त्यसलाई संसदद्वारा पारित गराउने प्रयत्नले अमेरिकन साम्राज्यवादको साम्राज्यवादी रणनीतिको नै सेवा गर्नेछ,’ सिंहले भनेका छन् ।

एमसीसीलाई संसदमा रोकेर राखेकोमा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सिंहले धन्यवादसमेत दिएका छन् । एमसीसीलाई आगामी अधिवेशनबाट पारित गराउने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको उनले विरोध गरेका छन् ।

सिंहद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘यदि त्यो प्रोजेक्ट (एमसीसी)लाई पूर्वसभामुख कृष्णबहादुर महराले रोक्ने कुनै कार्य गरेको भए त्यसका लागि उनलाई धन्यवाद दिनुपर्दछ र उनको प्रशंसा गर्नुपर्दछ । यदि ओली सरकारले संसदको आगामी अधिवेशमा त्यसलाई प्रस्तुत गरेर पारित गराउने प्रयत्न गर्दछ भने त्यसको कडा विरोध गर्नुपर्दछ ।’

‘संसदको आगामी अधिवेशनमा पारित गराउने ओलीको अभिव्यक्तिले वर्तमान सरकारमा देखापरेको अमेरिकन साम्राज्यवादपरस्त सोचाइलाई नै बताउँछ’ सिंहले लेखेका छन् ।

महामन्त्री सिंहले रौतहटमा १२ वर्ष पहिले भएको हत्याकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलममाथि निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement