अख्तियारको बयानबाट भाग्दै मोहन बस्नेत र ज्ञानेन्द्र कार्की, शक्तिकेन्द्रबाट दबाव दिएर मुद्दा रोक्न लविङ

अख्तियारको बयानबाट भाग्दै मोहन बस्नेत र ज्ञानेन्द्र कार्की, शक्तिकेन्द्रबाट दबाव दिएर मुद्दा रोक्न लविङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल दूरसंचार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रकरणमा मुछिएको स्वास्थ्यमन्त्री मोहन बस्नेत र पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलाएको छ ।

कार्की र बस्नेत दुवै जना संचारमन्त्री भएको बेला उक्त खरिद प्रक्रिया अघि बढेको थियो । त्यसमा दुवैको भुमिका देखिएको भन्दै अख्तियारले उनिहरुलाई बयानका बोलाएको हो । तर, दुवै नेता शक्तिकेन्द्रबाट अख्तियारलाई दबाव दिइरहेको स्रोत बताउंछ ।

‘बयानका लागि बोलाएका उहांहरुलाई धेरै भयो । तर, दुवै जनाले अनेक बहाना बनाइराख्नुभएको छ । अव वयानमा आउनुभएन भने उहांहरुलाई प्रक्राउ नै गर्नुपर्ने हुन्छ ।’ अख्तियार स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

कांग्रेस नेता कार्कीलाई यसअघि नै अख्तियारले बोलाएपनि उनले राष्ट्रियसभा चुनावमा व्यस्त रहेको भन्दै टारेका थिए । तर, अहिले काठमाण्डुमा भएपनि उनले फोन अफ गरेको अख्तियारका एक अधिकारीले बताए ।

कार्की र बस्नेत दुवैलाई जोगाउन अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा समेत सक्रिय छिन् । कार्की स्वयंम् समेत पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीकोमा पुगेका छन् । भण्डारीले अख्तियारको छानविनमा आफुले केही गर्न नसक्ने भनेपछि कार्की अहिले विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

कांग्रेस सभापति देउवाले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर समेत छलफल गरेको स्रोतले बतायो । अख्तियार प्रमुख प्रेम राईले ठुला भ्रष्टाचारका फाइलमा अनुसन्धान अघि बढाएपछि उनलाई हटाउन सत्तारुढ दलका शिर्ष नेताहरु नै लागेका थिए । राईलाई हटाएर पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई अख्तियारमा ल्याउन चलखेल भएपनि त्यसमा अदालतको साथ नपाएको बताइन्छ ।

कांग्रेस प्रभावशाली दुवै नेताको मुद्दा रोक्न आयुक्त किशोर सिलवालमाथि समेत ठुलो दबाव रहेको अख्तियार स्रोत बताउंछ । त्यसका लागि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ समेत सक्रिय थिए । यही मुद्दा मिलाउन भन्दै राजदूत नियुक्तीमा लेनदेन समेत भइसकेको बताइन्छ ।

‘संवैधानिक नियुक्तीको मुद्दा अदालतबाट खारेज गराएर आफु निकटलाई अख्तियारमा ल्याउने खेल थियो । त्यो पनि सफल नभएपछि मुद्दा रोक्नेमा लाग्नुभएको छ । ’उच्च स्रोतले भन्यो । अख्तियारको प्रमुख आयुक्त हुन सिंहसंगै आयुक्त जयबहादुर चन्द समेत सक्रिय छन् ।

अख्तियारले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव वैकुण्ठप्रसाद अर्याल,पूर्व सचिव महेन्द्रमान गुरुङ, सचिव विनोदप्रकाश सिंह र दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाको वयान लिइसकेको छ । अव कार्की र बस्नेतको वयान लिएपछि मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

टेरामक्स प्रकरणमा अर्बौ रुपैयां अनियमितता भएको उजुरी अख्तियारमा परेपछि छानविन सुरु भएको थियो । संसदको लेखा समितिले समेतयसमा भ्रष्टाचार भएको निष्कर्श निकाल्दै यसमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिइसकेको छ । तीन अर्ब रुपैयांको उक्त प्रविधि खरिद गर्न डेढ अर्ब रुपैयां अनियमितता भएको आशंका अख्तियारको छ ।

यसमा कांग्रेस नेता कार्कीका भाई विवादित व्यापारी लोकेन्द्र कार्कीको समेत विचौलियाको भुमिका रहेको स्रोतले जनाएको छ । अख्तियारले कार्कीको सिंगापुरमा रहेको कम्पनीको कारोवार समेत हेरिरहेको छ ।