काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका वार्ता पक्षधर नेताका रुपमा परिचित मोहन कार्की ‘जीवन्त’ थुनामुक्त भएका छन् । ०७५ चैत १ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार थुनामुक्त गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो । उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी थुनामुक्त गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन् । कार्की यी नेतामध्ये रिहा हुने पहिलो नेता बनेका छन् ।थुनामा रहेका उनले केही दिनअघि मात्रै वार्ताबाट समस्याको निकास खोज्नुपर्ने बताएका थिए ।
आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको बताएका थिए ।




प्रतिक्रिया