काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।
हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेकाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ भने, केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
महाशाखाले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया