सार्वजनिक बसमा पाकेटमारी गर्ने गिरोहका ४ जना पक्राउ

सार्वजनिक बसमा पाकेटमारी गर्ने गिरोहका ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद र गरगहना लुटपाट गर्ने पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस २२ गते सिनामंगलस्थित गोल्डेनगेटबाट बस चढेका १ युवकको २ लाख ७५ हजार रुपैयाँ नगद र पुस २३ गते सोही क्षेत्रमा १ महिलाको सुनको सिक्री पाकेटमारी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाएको थियो ।

तिलगंगाबाट ४ जना नियन्त्रणमा प्राप्त सूचना र सुक्ष्म निगरानीका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पुस २३ गते दिउँसो तिलगंगा क्षेत्रबाट चोरीमा संलग्न ४ जनालाई रङ्गेहात नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको दक्षिणकालीका ३७ वर्षीय सरोज खड्का, काभ्रे घर भई काँडाघारी बस्ने ४२ वर्षीय विकाश लामा, तनहुँ घर भई टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेका छन् ।

अभियुक्तहरूको आपराधिक पृष्ठभूमि प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू पुराना र पेशेवर अपराधी रहेको खुलेको छ । मुख्य अभियुक्त सरोज खड्काविरुद्ध यसअघि नै अभद्र व्यवहार, चोरी, डाँका र लागूऔषध सम्बन्धी ११ वटा मुद्दा दर्ता भइसकेको पाइएको छ । राजु गुरुङविरुद्ध ४ वटा, विकाश लामाविरुद्ध २ वटा र सुवास मगरविरुद्ध २ वटा अभद्र व्यवहार सम्बन्धी मुद्दाहरू यसअघि नै चलेको देखिएको छ ।

५ दिनको म्याद थप गरी अनुसन्धान सुरु पक्राउ परेका चारै जनालाई काठमाण्डु जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिइएको छ । सार्वजनिक यातायातमा हुने यस्ता संगठित पाकेटमारी र लुटपाटलाई निरुत्साहित गर्न प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ ।