काठमाण्डु-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यता, सिन्धुपाल्चोकसहित बाग्मती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पनि पानी परेको छ । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा दिनहुँजसो ठूलो पानी पर्दै आएको छ । गएराति पनि सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकोले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका साथै सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।




प्रतिक्रिया