काठमाण्डु – देशका पाँच प्रदेशका ४० भन्दा बढी जिल्लामा भारी वर्षा, पहिरो र हिमपातको सम्भावना रहेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, पहिरो र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार बिहिबारदेखि शुक्रबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका स्थानहरूमा भारी वर्षा र हिमपातको असर पर्ने अनुमान गरिएको छ।
सूचनामा कोशीका सबै जिल्ला झापा, मोरङ, इलाम, उदयपुर, धनकुटा, संखुवासभा आदि मधेशका सबै जिल्ला, बागमतीका काठमाण्डु ललितपुर, रसुवा, सिन्धुपाल्चोक, दोलखा, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ र लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ जिल्लाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्राधिकरणले सम्भावित वर्षा र हिमपातका कारण यातायात, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै पहिले नै पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नदी र खोला आसपासका बासिन्दालाई सचेत रहन, जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा जान, स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई सहयोग गर्न, र निरन्तर सूचना सञ्चार र सचेतना कायम गर्न विज्ञप्तीमा आग्रह गरिएको छ।
साथै प्राधिकरणले वर्षा र हिमपातको प्रभाव बढेमा स्थानीय प्रशासन, प्रहरी र विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्भावित क्षति न्यूनीकरणका लागि सबै तहका निकाय र स्वयंसेवकहरूलाई तत्पर रहन निर्देशन दिइएको छ।
यसबीच बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवातको असर देशैभर देखिएको छ ।
मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको असर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि परेको महर्जनले बताइन्।
बिहीबार बिहान सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्रै मौसम सफा हुने अर्का मौसमविद् उज्जवल उपाध्यायले बताए।
बिहीबार बिहान काठमाण्डु उपत्यका लगायतका स्थानमा भएको वर्षा पश्चिमी वायुको गतिविधिले गराएको र बिहीबार अपरान्हदेखि मोन्था आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुने उनको भनाइ छ।
मौसम विभागले चक्रवातको जोखिमलाई ध्यानमा राख्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।




प्रतिक्रिया