देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङमा यस्तो छ चुनावी अंकगणित

देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङमा यस्तो छ चुनावी अंकगणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोरङ जनसंख्या, मतदाता र स्थानीय तहका हिसाबले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो । कोइराला परिवारको राजनीतिक बिरासतसमेत जोडिएको यो जिल्ला जहिल्यै चर्चाको केन्द्रमा रहने गरेको छ । मोरङमा एउटा महानगरसहित १७ वटा स्थानीय तह छन् । त्यसमा आठवटा नगरपालिका र आठ गाउँपालिका छन् ।

यो जिल्लामा मुख्यतः कांग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा देखिन्छ । गत चुनावको परिणामका आधारमा कांग्रेस पहिलो दल हो । पछि एकीकृत भएको फोरम लोकतान्त्रिकको सहित मिलाउँदा कांग्रेसले मोरङमा महानगरसहित १० वटा पालिकामा जित निकालेको थियो । एमालेले पाँच तथा माओवादी र तत्कालीन मधेसी जनाधिकार फोरमले एउटा–एउटा पालिका जितेका थिए ।

एमाले र माओवादी मिल्दासमेत विराटनगर महानगरपालिका कांग्रेसले फराकिलो मतान्तरले जित्यो । त्यसबाहेक उसले सुनवर्षी नगरपालिकामा मेयर–उपमेयर तथा कटहरी र धनपालथान गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्यो । रतुवामाई, सुन्दरहरैँचा, उर्लाबारी र लेटाङ नगरपालिकामा मेयर तथा केराबारी गाउँपालिकामा अध्यक्ष पनि कांग्रेसले जित्यो । फोरम लोकतान्त्रिकले जितेको बुढीगंगा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र ग्रामथान गाउँपालिकाको उपाध्यक्ष पनि पछि कांग्रेसमा मिसिए ।

एमालेले बेलबारी र पथरी–शनिश्चरे नगरपालिकाको मेयर–उपमेयर तथा कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जित्यो । त्यसबाहेक ग्रामथान गाउँपालिकाको अध्यक्ष र अन्य पाँचवटा तहमा उपप्रमुख जित्न पनि एमाले सफल भयो । रंगेली नगरपालिकाको मेयर–उपमेयर माओवादीले जित्यो भने जहदा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष मधेसी जनाधिकार फोरमको भागमा पर्‍याे।

जिल्लाको नगर क्षेत्रमा बढी कांग्रेसले जितेको छ भने ग्रामीण क्षेत्रमा एमाले मजबुत देखिन्छ । अघिल्लो चुनावमा करिब आधा पालिकामा प्रमुख र उपप्रमुख फरक–फरक पार्टीबाट विजयी भएका छन् । कतिपय तहमा फोरम लोकतान्त्रिकको पनि उल्लेख्य मत देखिन्छ । यसले कांग्रेसलाई मद्दत मिलेको छ ।

जिल्लाका केही तहमा गठबन्धन पनि बनेको छ । विराटनगरमा सत्ता साझेदार दलले केन्द्रबाटै तालमेल गरेका छन् । एमालेले जितेको मिक्लाजुङ गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । पथरी–शनिश्चरे नगरपालिकामा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । सुनवर्षी नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ । अन्यमा भने दलहरूले एक्लाएक्लै लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् । तर, सबै पालिकामा तालमेलका लागि सत्ता साझेदार दलले प्रयास गरिरहेका छन् । सबै पालिकामा तालमेल नभए पनि जिल्लामा कांग्रेस नै पहिलो दल बन्ने लगभग निश्चित छ । एमालेले पहिले जितेका केही पालिका गुमाउन सक्छ । पार्टीमा आएको विभाजनले पनि एमालेलाई सकस परिरहेको छ ।

जिल्लामा ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । तीमध्ये ३ लाख ६३ हजार ४ सय ४८ पुरुष र ३ लाख ५१ हजार ७ सय ६९ महिला छन् । ६ जना अन्य समूहका मतदाता पनि छन् ।