काठमाण्डु – समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको छ ।
आज शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको छ ।
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता अनिल शर्माले अब मोर्चाको निर्णयपछि मोर्चाका संयोजक समेत रहेका महासचिव विप्लवले पत्राचार गर्ने जानकारी दिए ।
एमालेसहित नेकपा मशाल, मोहन वैद्य ‘किरण’, आहुती, ऋणी कट्टले लगायतले नेतृत्व गरेका पार्टीलाई पत्राचार गरिने जनाइएको छ ।
बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाण्डुसहित सातै प्रदेशमा १/१ वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू सहभागी थिए । फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक तोकेको थियो ।




प्रतिक्रिया