कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदै, मोर्गन कलेजका तीन विद्यार्थी प्रहरी थुनामा

कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदै, मोर्गन कलेजका तीन विद्यार्थी प्रहरी थुनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परीक्षा शुल्क विवादपछि प्रहरीले काठमाण्डुको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्याथीलाई पक्राउ गरेको छ ।

मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षा शुल्कमा अभिभावक र सम्बन्धीत कलेजबीच विवाद बढेपछि प्रहरीले तीन विद्यार्थीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरी प्रहरी थुनामा राखेको महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

शुल्क विवाद बढेपछि उनीहरुले कलेजमा ढुंगा हानेको कलेजको आरोप छ । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ ।

मंगलबारदेखि सुरु हुने परीक्षाका लागि विद्यार्थीहरू गत साता प्रवेश पत्र लिन विद्यालय पुगेका थिए । मोर्गन कलेज व्यवस्थापनले परीक्षा शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन नमानेपछि अभिभावक र कलेज व्यवस्थापनबीच विवाद बढ्दै गएको थियो ।

महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको बताएका छन् ।