मोरङ–६ : १७ वर्षपछि कोइराला र ढकाल फेरि आमनेसामने

मोरङ–६ : १७ वर्षपछि कोइराला र ढकाल फेरि आमनेसामने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आसन्न प्रतिनिधि सभा निर्वाचनमा मोरङ–६ चुनावी चहलपहल बढेको छ । पटक पटक निर्वाचन जितेका र नयाँ अनुहारबीचको प्रतिष्पर्धा यो क्षेत्रमा बढेको छ ।

चुनावमा होमिएका सबै उम्मेदवारहरू विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता एजेन्डा बोकेर घर दैलौ अभियानमा व्यस्त भएका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका विनोद ढकाल उम्मेदवार छन् । कोइरालासँग २०६५ सालको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेर उपविजेता भएका ढकाल फेरि १७ वर्ष पछि कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कोइराला ७९ सालको निर्वाचनमा विजयी भएका थिए भने ढकाल ७९ सालमा मोरङ–४बाट उम्मेदवार बनेका थिए । यसपटक केही नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् ।

विगतका निर्वाचन र पार्टीको आन्तरिक प्रतिष्पर्धामा लगातार पराजित हुँदै आएका ढकाललाई यो चुनाव कमब्याक गर्ने अवसर पनि हो । यस पटक जनताले आफूलाई न्याय गर्ने ढकालको विश्वास छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुविना आचार्य उम्मेदवार छिन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ओपेन्द्रकुमार रायलाई अघि सारेको छ । उनी जनयुद्ध लडेका नेकपाका पुराना नेता हुन् । यो क्षेत्रमा तीन स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् ।

अप्ठ्यारोमा कोइराला

कोइराला परिवारको ‘लिगेसी’ र कांग्रेसको राम्रो जनमत भएको ठाउँमा यसपटक ढकालको उम्मेदवारी र रास्वपाको लहरले कोइरालालाई सहज जित निकाल सकस भएको छ ।

नयाँलाई परिणाम आफ्नो पक्षमा पार्ने र कोइरालालाई आफ्नो विरासत जोगाउने चिन्ता छ ।

२०७९को निर्वाचनमा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका कोइराला फेरि दोहोरिन चाहेका छन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ–७बाट उम्मेदवार बनेका कोइराला मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग पराजित भएका थिए ।

त्यसबेला सुनसरी–३ मा समेत उम्मेदवार रहेका गच्छदारले मोरङ छाडेपछि फोरमबाट चुमनारायण तवदार र कोइरालाल उम्मेदबार बने र कोइराला विजयी भए ।

२०७० को दोस्रो संविधासभा निर्वाचनमा कोइरालाले तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरे ।
अहिले क्षेत्र नम्बर ६ भएको मोरङमा २०७४ को निर्वाचनमा भने कोइराला थोरै मतान्तरले एमालेका पण्डितसँग पराजित भएका थिए ।

तर, त्यो परिणाम उल्टाएर २०७९ को निर्वाचनमा फेरि कोइराला नै निर्वाचित बने । कोइराला विजयी हुँदा कांग्रेस र माओवादीबीच गठबन्धन थियो । यस पटक भने सबै दल एक्लाएक्लै चुनावी दौडमा छन् ।

२०६५ मा कोइरालासँग पराजित भएका एमालेका ढकाल २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको मेयर पदमा कांग्रेसका भीम पराजुलीसँग हारेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ढकाल मोरङ–४ मा उमेदवार थिए । तर, तत्कालीन माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित भए ।