काठमाण्डु –प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।
आज राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै दुगडले यस्तो बताएका हुन् । उनले भने, ‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ । यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ । यो थाहा पाउँदा खुशी लाग्यो । हामीले एकदम ईमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो । भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें । भिन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको कुरा भयो । हाम्रो कामले जनतामा राहत भयो । निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो । हाम्रो मन्त्रालय भनेको निजी क्षेत्रको प्यारेन्ट्स हो । हामीले काम गर्ने सिस्टम चेन्ज गर्यौं । दुई दिनमा काम गर्ने वातावरण बनायौं । बढिमा तीन दिनमा काम गरिदिनेगरि नयाँ प्रणालीले काम सुरु गर्यौं । नीति पनि त्यहीअनुसार बनायौं । सबै सचिव, सहसचिवले सहयोग गर्नुभयो ।’
उनले कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । हामीले कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । हामी एक दिन पनि घरमा बसेनौं । रातदिन काम गर्यौं । प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आँफैसँग राख्नुभयो । मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’
सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । उनले भने,‘अहिले राजश्व घटेको छ । बेरोजगारी बढेको छ । नयाँ लगानी आएको छैन् । लगानी गर्न मान्छेहरु डराईरहका छन् । प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ । म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’
उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले भने,‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्रको मनोबल गिर्न दिनुहुँदैन् । म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ । मलाई समस्या थाहा छ । राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीहरुाई अगाढि बढाउनुपर्छ । म आफ्नो भूमिकामा खरो उत्रिन्छु । म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु । दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला–ठूला परियोजना सम्पन्न गर्नुपर्छ । पुँजी त चाहिन्छ । पैसा खर्च हुनुपर्छ । पैसाको फ्लो बढ्छ । पुँजीको सर्कुलेशन हुनु बहुत आवश्यकत्ता छ ।’
उनले निजी क्षेत्रलाइ प्रोत्सहान, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको सुनाए ।
उनले भने,‘हामीसँग धेरै राम्रो फ्युचर छ । अहिले राजनीतिमा अलिकति तरलता आएको छ । यसले विकासमा कुनै अवरोध हुँदैन् । यो राजनीतिक तरलता भैरहन्छन् । यो नियमित प्रक्रिया हो । प्रधानमन्त्री सजिलो व्यक्ति हो । स्वेच्छाले ताजा जनादेशमा जान्छु भन्नुभएको हो । सरकारले राम्रोसँग सञ्चालन गर्न सकेको छैन भन्ने लाग्छ भने जनताको बीचमा जाने कुरा न्यायसंगत हो नि । यदि प्रधानमन्त्रीज्यूलाई कुर्सीको मोह भएको भए त उहाँले चुनाव किन घोषणा गर्नुहुन्थ्यो ? उहाँलाई कुर्सीको मोह छैन् । सरकारले काम गर्न सकेको छैन भन्ने शंका छ भने जनादेश खोजौं भन्नुभयो । यसबाट कोही पनि विचलित हुनुहुँदैन् । संसद विघटन पहिलोपटक भएको होईन् । भारतमा पनि विघटन भएको छ । अन्य मुलुकमा पनि भएका छन् । संसद विघटन र चुनाव हुने भएर देशमा कुनै किसिमको बदलावा आउँछ, अस्थिरता हुन्छ भनेर भ्रमपूर्ण कुरा फैलाईएको छ । यो गलत हो ।’
उनले चुनावबाट कोही पनि डराउनु नहुने स्पष्ट पारे । उनले भने,‘आफ्नै साथीहरुले हठ प्रयोग गरेर । प्रममाथि विभिन्न चार्जहरु लगाईयो । बरु, उहाँले चूनौति दिनुभयो–एउटा पनि आरोप प्रमाणित गरे जस्तोसुकै सजाय भोग्छु भन्नुभयो । चार्ज लगाएरमात्रै हुँदैन् । त्यो प्रमाणित हुनुपर्यो । दुई तिहाईको सरकारलाई विस्थापित गर्न खोजियो । पाँच वर्षसम्म अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री हुने सुविधा र बहुमत थियो, तर उहाँले चुनावमा जाने निर्णय गर्नुभयो । जनताको मत लिने कुरा त राम्रो हो ।’
उनले आफू पनि प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको विकास र समृद्धिको लागि के–के गर्न सकिन्छ ? म सँधैं गर्न तयार छु ।’




प्रतिक्रिया