बुटवल – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो ।
कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घटनामा १६ जना सर्वसाधारण घाइते भएका थिए । १६ जनामध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए ।
प्रहरीले गोली चलाएपछि झन स्थानीय आक्रोशीत बनेका थिए । विगत एक सातादेखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन थालेको हो । रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा हाल स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।




प्रतिक्रिया