मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका-४ बस्ने १९ वर्षीय विशाल बुढा,सोही ठाउँ बस्ने २८ वर्षीय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका–१० थापाचौर घर भएका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती रहेका छन् ।

मुस्कान घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि अनुसन्धान गर्दै जाँदा सल्यान शारदा नगरपालिका-९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा सल्यान जिल्ला प्रहरी कार्यालयको सहयोगमा रा७प ३०८४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएकोे नायब प्रहरी उपरीक्षक मल्लले बताए ।

यसैबीच स्कुटी चोरी गर्ने तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ घर भई हाल वडा नं ५ बस्ने १६ वर्षीय सङ्केत, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय सन्तोष परियार र दङ्गीशरण गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षीय नविन परियार रहेका छन् ।

यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका-९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा८प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर चोरी गरिएको थियो । भोलिपल्टै निजले दङ्गीशरण गाउँपालिका-६ बस्ने १९ वर्षीय नविन परियारलाई दस हजारमा उक्त स्कुटी बिक्री गरेका थिए । नविनले स्कुटी खरिद गरेर घरको कोठामा लुकाइछिपाइ राखेको अवस्था प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी कसुर मुद्दा दर्ता गराएर जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रमुख मल्लले जानकारी दिए।