काठमाण्डु – अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन् । नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाण्डु पुगेकी थिइन् ।
चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् । भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालबाट उनले ठोस धारणा पाउन सकिनन् ।
काठमाण्डु ओर्लेपछि उनले पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन् । ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले धारणा सार्वजनिक गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए । यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए ।
सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन् । सुमारले प्रचण्डलाई शुक्रबार भेटेकी थिइन् । प्रचण्डले ‘एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीच सहमति बनाएर अगाडि बढ्न सकिने’ जवाफ फर्काएका थिए ।
एमसिसीबारे कांग्रेसभित्र त्यतिधेरै मतभेद छैन । सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलहरुबीच सहमति गरेर एमसिसी सदनबाट पारित गराउने बचन दिएका छन् ।
सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी छन् ।
‘एमसीसी कुनै सैन्य रणनीति होइन’ नेपाल भ्रमणमा रहेकी सुमारले एमसीसी सम्झौताका बिषयमा नेताहरुलाई प्रष्ट पार्न खोजेकी छन् । उनले सबै नेताहरुसँगको छलफलमा एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेकी छन् । साथै अब संसदले सम्झौता अनुमोदन गर्ने वा अस्वीकार गर्ने एउटा निर्णय दिनुपर्ने उनले बताएकी छन् ।
एमसीसी सम्झौता सैन्य रणनितिसंग जोडिएको भन्दै जनस्तरबाटै यो सम्झौता रद्ध गर्नेपर्ने आवाज उठिरहेको छ । एमसीसी सम्झौता अनुमोदन बिषयमा दलहरुले सहमति जुटाउन नसकिरहेका बेला एमसीसीका उच्च अधिकारी नेपाल आएका हुन ।
सम्झौता राष्ट्रियहित विपरित भएको भन्दै राजनीतिक दल तथा नागरिक समाजबाट आलोचना भइरहेका बेला सबैजसो नेताहरुले भने राष्ट्रिय सहमति गरेरमात्रै पास गर्ने जवाफ दिएका छन् । उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन ।




प्रतिक्रिया