काठमाण्डु –नेपाली सेनाले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटू (८६११) को विन्टर सिजनमा प्रथम पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरुलाई सम्मान गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा आयोजित विशेष समारोहकाबीच सेनाले कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा ८००० मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो माउण्ट केटू हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
उक्त अवसरमा आरोहण दलका लिडर निर्मल पुर्जा मगरबाट आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै माउण्ट केटू को शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरु सफल भएको अनुभव सुनाएका थिए ।
बेलायती सेनाको स्मेशल फोर्शबाट सेवा निवृत्त पुर्जा मगरले टिम को निर्माण गरी सामुहिक भावना तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्न केही गरौं भन्ने चाहनाले गर्दा आरोहणको ईतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न सफल भएको बताएका थिए । विदेशमा सेवा गर्दा मातृभुमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत साटेका थिए ।
प्रधानसेनापति थापाले नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित भएका आरोहीहरुलाई बधाई दिएका थिए ।
उनले सामुहिक भावना तथा दृढ विश्वास एवं लगनशीलताले विन्टर सिजन मा माउण्ट केटू जस्तो खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताउँदै उनले विदेशमा सेवा गर्नु नराम्रो पटक्कै नभएको र विदेशमा प्राप्त अनुभव तथा सिपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेको साथै राष्ट्रिय भावना सहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्ने हरेक पक्षलाई सम्भव बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।




प्रतिक्रिया