काठमाण्डु – नेपालमा पनि केही व्यक्तिमा म्युकरमाइकोसिस देखिएको पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिएपनि संक्रमण गम्भीर भएमा प्राणघात हुने विज्ञहरु बताउँछन् ।
यो संक्रमण कोरोना भाइरस संक्रमण भएका बिरामीमा आँखा, नाक र अनुहार बिग्रने समस्या देखिन थालेको हो । यो रोग म्युकर जेएफ रिजोपस (Mucor jf Rhizopus) नामक ढुसीले गर्दा हुन्छ ।
म्युकरमाइकोसिसका लक्षणहरु
–अनुहार ,मुख , नाक , आँखा वरिपरी दुख्ने
–ज्वरो आउने
–आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने
–आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने आँखाले धमीलो देख्ने
–नाकबाट रगत बग्ने वा कालो बाक्लो सिंगान आउने
–दाँत दुख्ने वा हल्लिने
–नाकको वरिपरीको छालाको रंग कालो हुदै जाने
कोरोनाको उपचारको क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु यसको उच्च जोखिममा रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर जानकारी समेत गराएको छ । यस्तै चिकित्सकको सल्लाह बिना एन्टिबाइटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु पनि म्युकरमाइकोसिस संक्रमणको उच्च जोखिममा छन् ।
शरिरको रोग संग लड्ने क्षमता कमभएका बेला यो रोगले बढी असर गर्ने जानकारहरु बताउँछन् । कोभिड–१९ भइसकेका बिरामीहरुले माथीका कुनै पनि समस्या देखिए नजिकको विशेषज्ञसंग परामर्श लिनपर्ने दन्त चिकित्सक हरि प्रसाद वलीको सुझाव छ ।
दाँत मात्र होइन ज्यान पनि जान सक्छ
म्युकरमाइकोसिसका कारण कुनै कारण बिना दाँत हल्लिने समस्या देखिएको डा वलीले बताए । म्युकरमाइकोसिस कै कारण गिजा पाक्ने समस्या पनि बिरामीहरुमा देखिएको छ । यदी समयमै उपचार गर्ने हो भने समस्या समाधान हुने डा वलीको आग्रह छ ।
उनी भन्छन्, ‘समयमै बिरामी चिकित्सक कहाँ पुगे समस्या समाधान हुन्छ । ढिलो भएमा ज्यान पनि जान सक्छ ।’
सुरुवातै पत्ता लागे एन्टिफंगस औषधी सेवन गरेमा म्युकरमाइकोसिस निको हुने उनी बताउँछन् । तर, ढिलो भयो भने दाँत सँगै दाँतसंग जोडिएका नसा, हड्डीलगायत गिजाको अप्रेसन गर्नुपर्ने उनले बताए ।
यो भन्दा अझै ढिला अस्पताल पुगियो भने बिरामीको ज्यान नै जोखिममा पर्ने उनको भनाइ छ । त्यसैले म्युकरमाइकोसिससंग सम्बन्धित कुनैपनि लक्षण देखिए नजिकैको चिकित्सकसंग परामर्श लिन उनको सुझाव छ ।




प्रतिक्रिया