सुन तस्करीमा मुछिएका भारतीय अशोक र निवेदिकाविरुद्ध ५३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

सुन तस्करीमा मुछिएका भारतीय अशोक र निवेदिकाविरुद्ध ५३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन तस्करी प्रकरणमा मुछिएका भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोगपत्र दायर गरेको छ ।

नेपालका वित्तीय संस्थाहरूमा खाता खोली राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार गरेको आरोप लगाउँदै विभागले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलाश वीरगञ्जमा मुद्दा दायर गरेको हो ।

यसअघि आरोपी भारतीय नागरिक सिन्हा २०७८ सालमा चर्चामा आएको २३ किलो सुन तस्करी प्रकरणमा मुछिएका थिए ।

विभागले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अशोक कुमार सिन्हा र निजकी छोरी निवेदिका सिन्हाले राजस्व चुहावटको कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भन्ने व्यहोराको यस विभागमा दर्ता भएको उजुरीउपर सम्पत्ति शुद्धीकरणको कसुरमा जाँचबुझ तथा अनुसन्धान हुँदा प्रतिवादीहरूले राजस्व चुहावटको कसुर गरी सो कसुरबाट आर्जित रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोली गरेको देखिएको छ ।’

कसूरबाट प्राप्त रकम हो भन्ने जानीजानी मुद्दति निक्षेपमा जम्मा गरी सोबाट निरन्तर लाभ लिने कार्य गर्नुका साथै सम्पत्तिको स्रोत र स्वरुपमा परिवर्तन गरी गराइ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१)को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको विभागले जनाएको छ ।

विभागले अशोक कुमार सिन्हालाई ३४ करोड २४ लाख ३१ हजार ४८० रुपैयाँका साथै निवेदिका सिन्हालाई १९ करोड ७३ लाख ९९ हजार ९६४ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोबर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय हुनुपर्ने माग गरेको छ ।

उनीहरूका नाममा रहेको बैंक मौज्दात, निवेदिका सिन्हाको नामको जग्गा एवं अपार्टमेन्ट खरिदका लागि दिएको पेश्की रकम समेत ऐनको दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गरी पाउन मागदाबी गरिएको छ ।