नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने


काठमाण्डु- नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले आउँदो पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म रोकिनेछ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जीखोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा बसेको बैठकले नारायणगढतर्फबाट जाने यात्रीवाहक बस, मिनिबस, माइक्रोबस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ ।

काठमाडौंतर्फबाट आउने यात्रीवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रीवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ ।

यस्तै, काठमाण्डुतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ देखि दिउँसे ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ ।

यस्तै, पोखरा–काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माणकार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् । सडकखण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement