काठमाण्डु – नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको छ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको कार्यालयले शुक्रबार बिहान सूचना जारी गर्दै जनाएको हो।
कार्यालयले सडकखण्डको अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबैलाई जानकारी राख्न अनुरोध गरेका छन्।
यस्तै, अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ ।
सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ ।





प्रतिक्रिया