काठमाण्डु – सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध रहेको छ ।
शुक्रबार बेलुका ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन ।
प्रहरीका अनुसार निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ ।
शनिबार बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । सुरक्षा जोखिमका कारण गएराति पनि काम हुन सकेको थिएन । मुग्लिन प्रहरीका अनुसार सडक खुलाउन अझै चार–पाँच घण्टा लाग्ने अनुमान छ ।
रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सवारी चल्न नसक्दा यात्रुहरू रातभर सडकमै बसेका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ।
सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा हेटौँडा र सिद्धार्थ राजमार्गको प्रयोग गर्न सकिने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेले बताए।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान ईन्जिनियर आचार्यको छ ।
शुक्रबार दिउँसो पनि यहाँ पटक पटक पहिरो खसेको थियो। पहिरो सफा गरेर सवारी सञ्चालन गरिएको अवस्थामा शुक्रबार साँझ झन् ठूलो पहिरो खसेको हो।






प्रतिक्रिया