मुग्लिन-नारायणगढ खुलेन, दुई रातसम्म यात्रु सडकमै अलपत्र

मुग्लिन-नारायणगढ खुलेन, दुई रातसम्म यात्रु सडकमै अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार, शनिबार साँझदेखि पनि निरन्तर पहिरो खसिरहेको छ। डिभिजन कार्यालय ले पहिरो हटाउन चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरेको थियो तर माथिबाट ढुंगा खसिरहेकाले पहिरो हटाउन सकिएको छैन ।

सडक खुल्न नसक्दा शुक्रबार बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।

शनिबार दिनभर पहिरो पन्छाउने प्रयास गर्दा पनि जोखिम कायमै रहेकाले साँझ भने काम स्थगित गरिएको कार्यालयले जनाएको छ। पहिरो पन्छाउने क्रममा ठुला ढुंगाहरू खस्दा एक्साभेटर चालक दुर्घटनाबाट जोगिएका थिए ।

रातिको समयमा काम गर्न असुरक्षित हुने भएकाले आइतबार बिहानै करिब ४ बजेदेखि पुनः पहिरो हटाउने कार्य सुरु गरिएको छ । सडक अवरुद्ध भएपछि अलपत्र यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न आग्रह पनि गरेको छ ।