मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग – कार्मारोङ गाउँपालिका–२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । कात्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म गाउँको घरमा ताला लगाएर बेसी अर्थात न्यानो स्थानतिर झर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न सकस हुने बताएका छन् ।

विगतमा भएका निर्वाचन वैशाख वा जेठमा हुने गरेकाले यहाँका न्यानो ठाउँमा अस्थायी बसोबास गर्ने यहाँका स्थानीयहरू आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गर्ने गरेका भएपनी फागुन २१ गते हुने निर्वाचनमा मतदान केन्द्रसम्म पुग्न सकस हुने बताउँछन् ।

मुगुमा गाउँमा ३०० घरधुरी छन् । यहाँका स्थानीयहरू कात्तिक महिनाको अन्तिम हप्तादेखि आफ्नो स्थायी बसोबास गर्दै आएका घरमा ताला तलाएर चिसो छल्न टाढाको सिरानी चौर, सदरमुकाम गमगढी, जुम्ला र काठमाण्डुसम्म पुग्ने गर्छन् ।

अहिले गाउँमा रहेको गुम्बाको पूजा गर्नका लागि १ जना लामा गुरु मात्र पुग्छन् । उनी पनि २ घण्टा टाढाको सिरानी चौरबाट आवतजावत गर्ने गरेका छन् ।

फागुन २१ गते मतदान गर्नका लागि सिरानी चौरबाट २ घण्टा सदरमुकाम गमगढीबाट २ दिन र जुम्लाबाट ३ दिन लगाएर गाउँको मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको भनाइ छ ।

वैशाखमा निर्वाचन भएको भए त्यतिबेला सबै गाउँलेहरू गाउँमा पुगिसकेका हुन्थे । तर अब फागुनमा हुने निर्वाचनमा प्राय मतदाताहरू मतदान गर्न जान सक्ने अवस्था न्यून छ ।

वृद्धवृद्धा बालबच्चालाई लगेर मतदान गर्न जान कठिन देखिएको छ । सदरमुकाम गमगढीबाट मतदान गर्न आवतजावत गर्दा प्रतिव्यक्ति ३ हजार रुपैंयाँ खर्च हुन्छ ।

जुम्लाबाट आउन जान १० हजारभन्दा बढी खर्च हुन्छ । एकै घरका ३–४ जना मतदान गर्न जाँदा ३० हजारभन्दा बढी खर्च लाग्ने भएकाले प्राय: मतदाताहरू मतदान गर्नकै लागि पुगिहाल्छन् भन्नेमा आशा रहेको मुगुमा कार्मारोङ गाउँपालिका—२ का वडाध्यक्ष च्यावा तामाङ बताउँछन् ।

यो गाउँको मतदान केन्द्रमा मतदान गर्नेको संख्या ६०९ जना छन्, जसमध्ये पुरुष ३३८ महिला २७१ जना छन् । अहिले गाउँमाबाट चिसो छल्न अन्यत्र पुगेका मतदाताहरू फागुन २१ गते हुने निर्वाचनमा कसरी पुग्ने भन्ने चिन्ताले सताउन थालेको स्थानीयहरू गुनासो गरिहरेका छन् ।

स्थानीय कार्मा तामाङ भन्छन्, ‘स्थानीयहरू सबै गाउँभन्दा बाहिर छन् । गाउँ सुनसान छ । गाउँमा स्थानीय कोही नभएपछि निर्वाचनले छोएको देखिएको छैन । गाउँमा गाउँलेहरू नै नभएपछि राजनीतिक दलहरू समेत पुग्न सकेका छैनन् ।’

जुम्ला, काठमाण्डु र सदरमुकाम गमगढीबाट मतदान गर्न थोरैको संख्यामा पुगेपनी गाउँबाट २ घण्टा टाढाको सिरानी चौरबाट मतदान गर्नकै लागि वृद्धवृद्धाहरूलाई समस्या हुने बताएका छन् ।