काठमाण्डु – कर्णालीको विकट जिल्ला मुगुमा चारवटा मात्रै स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । यो जिल्लामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर, अहिले एकीकृत समाजवादीले पनि संगठन विस्तार गरेको छ ।
गत चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गरेर धेरै अध्यक्ष जितेको थियो । तर, तालमेल पालना नहुँदा माओवादी भने जिल्लिएको थियो । चारमध्ये तीनवटामा अध्यक्ष कांग्रेसले जित्यो । उसले उपाध्यक्ष भने एउटै जितेन । एमाले एउटा अध्यक्ष र चारवटै उपाध्यक्षमा जित निकाल्न सफल भयो । तर, तीमध्ये केहीले एकीकृत समाजवादी रोजेका छन् । त्यसैले अब जिल्लामा चारवटा मुख्य दल भएका छन् । यसपटकको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
गत चुनावको नतिजा
०७४ सालमा भएको चुनावमा कांग्रेस पहिलो दल बन्यो । उसले छायाँनाथ–रारा, मुगुम–कार्मारोङ र सोरु गाउँपालिकामा अध्यक्ष जितेको थियो । एमालेले खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जित्यो । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थिएन । अध्यक्षमा माओवादी दोस्रो बन्यो भने उपाध्यक्षमा तेस्रो । उपाध्यक्षमा मात्र सात मतको अन्तर भएको थियो ।
यस्तै, कांग्रेस र माओवादीबीच तालमेल भएका छायाँनाथ–रारा, मुगुम–कार्मारोङ र सोरुमा एमालेले उपाध्यक्ष जित्यो । तीनवटैमा उपाध्यक्ष माओवादीले पाएको थियो । अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्नाले तीन गाउँपालिकामा तालमेल पालना नभएको देखियो । माओवादीले भने एउटै पालिका जित्न सकेन ।
भावी परिणाममा एकीकृत समाजवादी निर्णायक
मुगुमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि राम्रै संगठन बनाएको छ । संघीय सांसद, प्रदेश सांसद तथा अन्य गरी दुई दर्जनभन्दा बढी जनप्रतिनिधि एमाले छाडेर एकीकृत समाजवादीमा लागेका छन् । संघीय सांसद गोपाल बम, प्रदेश सांसद चन्द्रबहादुर शाही र सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी बम मल्ल पनि समाजवादीमा गएका छन् ।
यसले जिल्लामा एमालेलाई ठूलो झट्का लागेको छ । त्यसैले संघीय सत्ता चलाइरहेका दलबीच गठबन्धन भयो भने यसपटक मुगुमा एमाले शून्यको अवस्थामा पनि झर्न सक्छ । गठबन्धन भएन भने चार दलबीच नै प्रतिस्पर्धा हुनेछ । तर, कांग्रेससँग नमिले माओवादी र एकीकृत समाजवादीले तालमेल भने गर्ने निश्चित देखिएको छ । त्यसो भए त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना देखिन्छ ।
मुगुमा ३५ हजार ८९ मतदाता छन् । तीमध्ये १८ हजार एक सय ४४ पुरुष र १६ हजार नौ सय ४५ महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।
हेर्नुस, मुगुकाे चारवटै स्थानीय तहमा ०७४ सालको निर्वाचन परिणाम इन्फोग्राफमा ।





प्रतिक्रिया