मुकेश हत्या प्रकरणबारे एसपी पन्तको दाबी: घटनामा पूर्वसांसद गुप्ताको संलग्नता छैन्


काठमाण्डु – पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव मुकेश चौरसियाको हत्याको आरोप लागेका पूर्व सांसद राजकुमार गुप्ताको नाम आएपछि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले रितपूर्वक आएको जाहेरी मात्रै दर्ता गर्ने अडान लिएकी छन् । एसपी पन्तले चौरसियाको हत्यामा राजनीतिकरण भएको भन्दै प्रहरीले अनुसन्धानमा देखेका कुरालाई मात्र स्वीकार गर्ने बताएकी छन् । उनले राजनीतिक दलको चाहनाअनुसार व्यक्तिलाई फसाउने नियमत देखिएकाले जाहेरी दर्ता नभएको बताएकी छन् ।

‘यसमा जाहेरी दर्ता होइन उहाँहरुको इन्ट्रेस्टअनुसार नपरेकाले जाहेरी दर्ता नभएको हो । यो घटनामा पूर्वसांसद राजकुमार गुप्ताको नाम लिनु जरुरी छैन् । कसैले व्यक्तिगत रिसिइबी आदि इत्यादी अरु कारणले जारी दर्ता गर्दैन प्रहरीले अनुसन्धान गर्दा जे देखिन्छ त्यही नै गर्ने हो । यो घटनाको भिडियो नै आउट भएको छ’, काठमाण्डुपाटीसँग कुरा गर्दै एसपी पन्तले भनिन्, ‘तपाईले देखि हाल्नु भएको छ होला । भिडियोमा उहाँहरुले आरोप लगाउनु भएको गुप्ताको संलग्नता छैन् ।’

एसपी पन्तले चौरसिया हत्या प्रकरणमा प्रहरीलाई विवादित बनाउने काम भएको बताइन् । उनले उक्त घटनामा पर्साको मुभमेन्टले राजनीतिक दाउपेच छ छैन भन्ने कुरा पुष्टि गरिसकेको बताइन् ।

‘यो राजनीतिको विषयमा नबोल्दा राम्रो हुन्छ । राजनीतिक विषयमा बोल्दा तपाईहरुले हामीलाई विवादित बनाउने मात्रै काम गर्नुहुन्छ । राजनीतिक दाउपेज छ कि छैन् भन्ने कुरा हेर्नुस् न तपाईले एनालाइसिसि गर्ने हो । नेपालको राजनीति म आफैं बुझ्दिन । राजनीतिक दाउपेज छ कि छैन् भन्ने कुरा यहाँको मुभमेन्टले प्रष्ट पार्छ । पूर्व सांसदको नाम लिएर आएर दर्ता नभएको भन्ने गलत हो । प्रहरीले उहाँहरुले चाहेअनुसारको जाहेरी दर्ता किन गरेन भन्ने कुरा बुझ्न जरुरी हुन्छ । यहाँ कुनै पनि घटना भइसकेपछि आफ्ना विरोधीहरु र विपक्षीहरुलाई नै हरेक देशमा यही नै हुन्छ । र प्रहरीले बुझिसकेपछि मात्रै अन्यथा चाँही अनुसन्धानबाट र तत्काल देखिएका कुराहरुलाई चाँही हामीले प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाउँछौं’, उनले भनिन् ।

पीडितले घटनामा संलग्न रहेको आशंकामा नाम किटेर जाहेरी दिएपछि प्रहरीले दर्ता गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा पन्तले घटनाको विषयमा अनुसन्धान गरेर मात्र प्रहरीले जाहेरी लिने नलिने भन्ने विषय निक्र्यौल हुने बताइन् ।

‘सामान्यतया प्रहरीले जाहेरी लिनुपर्ने हुन्छ । पीडितले जाहेरी नलिएको भन्दा पनि घटनाको विवरण नै बाहिर आइसकेको खण्डमा गलत कुरालाई प्रहरीले जाहेरीमा लिनुपर्छ भन्ने छैन्’, उनले भनिन्, ‘हाम्रै कानूनी व्यवस्था हेर्नुहुन्छ भने पनि प्रहरीले जाहेरी नलिए फलानोफलानु निकायमा जान सकिने भन्ने व्यवस्था छ । प्रहरीले जाहेरी नलिन पनि सक्छ नि त । प्रहरी मात्रै अन्तिम होइन । मुद्दा अगाडि नबढ्ने होइन ।’

अब यो मुद्दा कसरी अगाडि बढ्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो छ । हामीले अनुसन्धानमा देखिएका कुरालाई अन्यथा गर्नुहुँदैन भन्ने इस्युबाट उहाँहरुलाई रिक्वेस्ट गरेको हो नि । अहिले त सरकारी वकिलको कार्यालय, अदालत जाने अप्सन खुला छ उहाँहरु त्यसमार्फत आउनुहुन्छ ।’

गत बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका मुख्य योजनाकार पूर्वसांसद गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी बिहीबार राति नै छाडेको थियो ।

उक्त झडपमा घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्प्तालबाटै फरार छन् । चौरसियाको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement