प्रधानमन्त्रीलाई प्रश्नः भेट्न खोज्दा आठ महिनासम्म समय नदिने अनि खबरै नगरि आउँदा स्वागतको आश गर्ने ?

प्रधानमन्त्रीलाई प्रश्नः भेट्न खोज्दा आठ महिनासम्म समय नदिने अनि खबरै नगरि आउँदा स्वागतको आश गर्ने ?


काठमाण्डु – सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थल नगएपछि उनी आलोचित बनेका छन् ।

आफ्नो नेतृत्वको नेकपा प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शुक्रबार सुदुरपश्चिम पुगेका थिए ।पूर्वमाओवादी खेमाका मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा नगएपछि उनमा ‘राजनीति संस्कार नभएको’ भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

अहिले सामाजिक सञ्जालमा ओली समूहका कार्यकर्ताले मुख्यमन्त्री भट्टको आलोचना गरिरहेका छन् भने प्रचण्ड–नेपाल समूहले भने भट्टले ठिक गरेको भन्दै भट्टको बचाउ गरिरहेका छन् ।

यसैबीच नागरिक अगुवा र सञ्चारकर्मीसमेत मुख्यमन्त्रीको यो कदममा विभाजित भइरहेका बेला मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले औपचारिक जानकारी नहुँदा मुख्यमन्त्री भट्ट स्वागतमा नगएको स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि भेट्न खोज्दा पछिल्लो ८ महिनासम्म समय नदिएको बताउँदै प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि नगरिकनै आउँदा स्वागतको आश गर्नु गलत स्पष्ट पारेका छन् ।

स्वागतमा नगएपछि उनमा ‘राजनीति संस्कार नभएको’ भन्दै सर्वत्र आलोचना भएपछि स्वकीय सचिव शिवसिंहले फेसबुकमा मुख्यमन्त्रीका तर्फबाट जवाफ दिएका छन् । उनले मुख्यमन्त्रीले शिष्टाचार भेट नगर्दैमा संस्कार नभएको नहुने जवाफ दिएका छन् ।

‘पहिले राजाको सवारी हुँदाको अञ्चलाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक ब्यबस्थामा कल्पना समेत गरिँदैन । किनकि यहाँ अहिले सामन्तवाद छैन । ८–८ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नुनपर्ने । तर शिष्टाचार भेट गर्नुपर्ने । नगरे संस्कारहिन हुनुपर्ने । त्यसो नगर्दा प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने । कस्तो तर्क ? अनि कस्तो सनक ?’

स्वागतमा नआउँदा प्रदेशसभा नै विघटन गरिदिने र मुख्यमन्त्री नै फेर्ने केन्द्रीय मन्त्रीहरुको धम्कीमा पनि स्वकीय सचिवले जवाफ दिएका छन् । ‘मुख्यमन्त्री व्यक्ति होइन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर पनि हो । त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होईन । यो हजारौ शहीदको बलिदानीबाट प्राप्त उपलब्धि हो ।’