काठमाण्डु – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारास्थित कार्यालयमा सम्पन्न कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १:०.६ (अर्थात् विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर) को अनुपातमा ४५ करोड ३६ लाख बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषक र उपभोक्तालाई जोड्न संस्थागत मूल्य शृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूका लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिस्ट्रेसन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था रहेको छ ।




प्रतिक्रिया