दाइको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भाइ पक्राउ

दाइको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भाइ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा दाइको हत्या गर्ने भाइ पक्राउ परेका छन् ।

७१ वर्षीय खमसिंह तामाङको हत्या आरोपमा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ जग्गासम्बन्धी विवादमा भाइ सिंहबहादुरले खुकुरी प्रहारबाट गरी खमसिंहको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

भारतीले जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।