नक्खु जेलमा ‘सिरियल किलर’ ले यसरी गरेका थिए भक्तको हत्या, विषको ‘एक्सपेरिमेन्ट’ !


काठमाडौं–ललितपुरस्थित नक्खु कारागारका कैदी भक्तबहादुर सुनारमाथि विषको ‘एक्सपेरिमेन्ट’ गराएर हत्या गरेको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार १९ वैशाखमा भएको हत्यामा ‘सिरियल किलर’ अभिषेकराज सिंह, मनोजकुमार चौरसिया र ध्रुवराज शर्माको संलग्नता देखिएको छ।

भक्तबहादुरको मृत्यु स्वभाविक नभएर ‘प्लान्ड मर्डर’ भएको निस्कर्ष निकालेको प्रहरीले सिंह, चौरसिया र शर्मालाई अभियुक्त बनाई मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। तीनै जना नख्खुमै जेल सजाय काटिरहेका छन्।

जेलभित्र जेलर र चौकीदारहरुलाई कारबाही गराउन उनीहरुले सुनुवारको हत्या गरेको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।

हत्याका लागि सिंहले बनस्पतिजन्य पदार्थबाट जेलभित्रै विष बनाएका थिए। तर त्यो विषले काम गर्छ कि गर्दैन भनेर थाहा पाउनका लागि पनि सिंहलाई त्यसको एक्सपेरिमेन्ट गर्नुपर्ने भएकाले सुनारमाथि एक्सपेरिमेण्ट गरिएको प्रहरीको निस्कर्ष छ।

सिंहको एक्सपेरिमेन्ट सफल हुँदा सुनारको मृत्यु भएको सिआइबीले दाबी गरेको छ ।

सिरियल किलरका नामले वद्नाम अभिषेक सिंहले यसअघि पनि ३ जनाको हत्या गरिसकेका थिए । सिंहले योभन्दा पहिले भक्तपुर, सुर्खेत र जनकपुरमा गरी तीन जनाको हत्या गरेका थिए।

घटनाको छानबिनको लागी कारागार ब्यबस्थापन बिभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।

समितिले छानबिन पश्चात घटना गम्भिर प्रकृतिको भएको र हत्या मुद्दामा थप अनुसन्धान हुनुपर्ने बताएपछि गृहमन्त्रालयको निर्देशनमा सीआईबीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement