काठमाण्डु – आइतबार बिहान मुस्ताङको टुकुचे हिमालमा हिमपहिरो खसेपछि हिमाली क्षेत्रका बासिन्दा त्रासमा परेका छन् । जलवायु परिवर्तनसँगै बढेको तापक्रमले हिउँ पग्लने र हिमतालको संख्या बढ्नसक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
गत असारमा पनि हिमाली क्षेत्रमा ठूलो पानी पर्यो, जबकि हिमालपारी ठूलो वर्षा नभइ हिमपात हुनुपर्ने हो । हिउँमा पानी पर्दा विपद्का घटना अझ बढ्दै जाने आँकलन वैज्ञानिकहरूले गरेका छन् ।
नेपालमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे जानकार जलवायु परिवर्तन न्यूनीकरण विज्ञ मन्जित ढकालले कार्बन उत्र्सजनले पृथ्वीको तापक्रम बढिरहेको बताउँदै यस्ता नसोचेका घटनामा बृद्धि हुने र पुनराबृत्ति पनि छिटोछिटो हुने बताए ।
‘पृथ्वीको तापक्रम विगत एक सय वर्षमा १.१ डिग्री बढिसक्यो । यसको मुख्य कारण कार्वन उत्सर्जन नै हो । तापक्रम बढेको कारण यस्ता नसोचेका घटनामा बृद्धि हुन्छ र पुनराबृत्ति पनि छिटोछिटो हुन्छ । हिमताल नै विस्फोट हुने सम्भावना हुन्छ । केही वर्ष अघि सेती नदीमा बाढी आएको घटना पनि जलवायु परिवर्तनका कारणले हो,’ उनले भने ।
ढकालकाअनुसार बेमौसमी वर्षा र पहिरोका घटना बढिरहेकाले यी घटनालाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ । यसको उदाहरणका रुपमा असोज अन्तिम साताको भीषण वर्षालाई लिन सकिने उनले बताए ।
उनले हिमाली क्षेत्रमा तापक्रम अस्वभाविक रुपमा वृद्धि भइरहेकाले यसको असर गम्भीर रुपमा देखा पर्ने बताए । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार नेपालमा तापक्रम बृद्धिदर वार्षिक औसतमा ०.०५६ डिग्रीसेल्सियस छ । तर, मुस्ताङको चाहिँ वर्षमै ०.१६ डिग्री रहेको विभागले जनाएको छ ।
ढकाल भन्छन्, ‘प्रत्येक १० वर्षमा १ डिग्री बढेको देखिन्छ । १ डिग्री सामान्य हो भन्ने पनि बुझाइ छ । तर, ० डिग्रीमा हिउँ पर्छ, १ डिग्री हुँदा हिउँ पग्लिन्छ । यो ठूलो अन्तर हो । हिमाली भेगमा तापक्रम बृद्धि अधिक छ । यस्तो असर अहिले पनि छ, भविष्यमा झन् बढ्छ ।’
उनले टुकुचे हिमालबाट हिमपहिरो खसेसँगै गण्डकी प्रदेशसहित अन्य प्रदेशमा रहेका हिमतालहरु फुट्ने सम्भाववना प्रवल रहेको बताए । ढकालले नेपालका ४७ वटा हिमता उच्च जोखिममा रहेको र यसबारे प्रदेश सरकारहरुलाई पनि जानकारी गराएको बताए ।
‘नेपालमा रहेका हिमतालमध्ये ४७ वटा जोखिममा छन् । खतराको उच्च विन्दुमा छन् । पूर्वतिर अलि बढी छन् । साथै गण्डकीका तीन वटा हिमताल पनि फुट्न सक्ने जोखिममा छन् । मनाङको ठूला ताल झन जोखिममा छ । हिमाली क्षेत्रको जोखिमबारे प्रदेश सरकारहरुलाई पनि जानकारी गराएको छु । अन्तराष्ट्रिय अध्ययनले पनि यस्ता घटनाको पुनराबृत्ति छिटो हुने देखाएको छ । पहिले १० वर्षमा हुन्थ्यो भने अब ३ वर्षकै अन्तरालमा पुनाराबृत्ति हुने देखाएको छ,’ ढकालले भने ।
उनले जोखिम क्षेत्र पहिचान गरेर सरकारले यसको न्यूनिकरणका लागि पूर्वतयारीको खाँचो रहेको बताए ।
‘पूर्वतयारीको भूमिका धेरै ठूलो छ । जोखिम पहिचान गर्नुपर्छ । जोखिम क्षेत्रमा बस्ती बसाउन हुँदैन । पूर्वतयारी र विपद्सँग जुध्न तीन वटै सरकारबीच समन्वय हुनुपर्छ,’ ढकालले भने ।
उनले नेपालका अरु जिल्लासँग तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम बृद्धिदर बढी रहेको बताए । ढकालले सुक्खा, खडेरीका कारण हिम पहिरोको जोखिम बढी रहेको बताए ।
‘खडेरी पनि बढ्नु, तापक्रम बढेपछि पार्ने असर झन् फरक हुनु भनेको राम्रो होइन । निराशाजनक कुरा गरेको भन्नुहोला, तर सकारात्मक देखिँदैन । यसको नियन्त्रणका लागि कार्वन उत्सर्जन घटाउने हो । ग्लास्गोमा भएको कोप–२६ ले यसलाई सहयोग पुग्छ । आइतबारको हिम पहिलो एक्स्ट्रिम इभेण्ट हो,’ उनले भने, ‘अर्को स्लो इभेण्ट पनि छ । लामो समयसम्म सुक्खा खडेरी बढ्दै जान्छ ।’




प्रतिक्रिया