एजेन्सी – संयुक्त अधिराज्य अमेरिकाले पक्राउ परेका आंग साङ सुकी लगायतका अधिकारीहरुलाई रिहा गर्न म्यानमारको सेनालाई आग्रह गरेको छ ।
अमेरिकाले सेनाले गरेको उक्त कदमका सम्बन्धमा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ । गत नोभेम्बरको भएको चुनावमा धाँधली भएको आरोपमा सेना र सरकारबीच बढ्दो तनावका कारण सुकी र राष्ट्रपतिलाई हिरासतमा लिएको छ ।
‘संयुक्त राज्यले भर्खरका चुनावको नतिजा बदल्न वा म्यानमारको प्रजातान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्दछ र यी कदमहरु उल्टाइएनन् भने जिम्मेवारहरु विरुद्ध कारबाही गर्ने छ,’ ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सेना र अन्य सबै पक्षलाई प्रजातान्त्रिक मान्यता र कानूनको पालना गर्न र आज पक्राउ गरेकालाई रिहा गर्न आग्रह गर्दछौं ।’
सेनाले गत हप्ता चुनावमा अनियमितता भएको दाबीलाई सुल्झाउन शक्ति प्रयोग गर्न सक्ने संकेत दिएको थियो ।




प्रतिक्रिया