म्यान्मार सैनिक ‘कू’ : विरोधमा उत्रिएका ३८ प्रदर्शनकारीको हत्या

म्यान्मार सैनिक ‘कू’ : विरोधमा उत्रिएका ३८ प्रदर्शनकारीको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्मारमा सैनिक ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जनाकाे हत्या गरिएकाे छ । म्यान्मारमा बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको हत्या भएको हो ।

जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ।फेब्रुअरी १ मा आङसाङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा बुधबार सबैभन्दा धेरै व्यक्तिको हत्या गरेको बीबीसीले जनाएकाे छ ।

म्यान्मारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ।  राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन्।

“म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,” उनले भनिन्। सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सूकीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो। सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन।

अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्। सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। राष्ट्रसंघीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन्।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् ।

प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र सुकीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।