एजेन्सी – म्यानमारमा सेनाको ज्यादतीका कारण शनिबार सयभन्दा बढी प्रदर्शनकारीको हत्या भएपछि १२ देशका रक्षामन्त्रीहरुले सेनाको निन्दा गरेका छन् ।
यूकेसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका छन्। संयुक्त राज्य अमेरिका, जापान र अस्ट्रेलिया पनि वक्तव्यमा हस्ताक्षर गर्ने सूचीमा छन्।
गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर सेनाले शक्ति आफ्नो हातमा लिएको थियो। त्यसपछि लगातार सैनिक ‘कू’ विरुद्ध प्रदर्शन हुँदै आएको छ। त्यस क्रममा शनिबार एकै दिन सय जना भन्दा बढिको ज्यान गएको हो। सेनाले बालबालिकासहितको हत्या गरेको हो । मारिनेमा केही प्रदर्शनमा सहभागी हुन् भने अरुलाई आफ्नै घरमा रहेका बेला मारिएको हो।
संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूले आतङ्कको शासन गरेको आरोप लगाएको छ। शनिवार, म्यान्मारमा भएको सैन्य ‘कू’यताकै, सबैभन्दा हिंसात्मक दिन बनेको छ। ‘कू’ नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए।आइतवार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जलि कार्यक्रममा समेत सेनाले गोली प्रहार गरेका थिए । आमनिर्वाचनमा नेत्री आङ्ग सान सूकीको नेश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो।
शनिवार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए। व्यापारिक केन्द्रको रूपमा रहेको याङ्गुनमा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो। अमेरिकाले हत्याका खबरबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएको छ। म्यानमारको मध्य क्षेत्रको शहर मिइङ्गयानका बासिन्दा थु या जावले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘उनीहरुले हामीलाई चरा वा कुखुरा जसरी मारिरहेका छन्। हामी घरमै हुँदा पनि मारिरहेका छन् । तर हामीले प्रदर्शन जारी राख्ने छौँ।’




प्रतिक्रिया