एजेन्सी- म्यान्मारमा सैन्य ‘कू’यता ४३ बालबालिकाको हत्या भएको छ। बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले सैन्य शासनको विरोधमा प्रदर्शन सुरु भएयता सेनाले ४३ जना बालबालिकाको ज्यान लिएको जनाएकाे छ। सेभ द चिल्ड्रेनले म्यानमारको अवस्था डरलाग्दो सपना भन्दा पनि खतरनाक रहेको बताएको छ।
म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले म्यान्मारको सुरक्षा अवस्था अझै नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा रहेकाे बताएका छन्। सुरक्षा फौजहरूले, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताए। म्यान्मारमा सैन्य ‘कू’यता मारिएका ५ सयभन्दा बढी मध्ये ९० प्रतिशतकाे गोली प्रहारबाट मृत्यु भएकाे जनाएकाे छ ।
शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले निन्दा गरेको छ। एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।
सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए। अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को इर्मेजेन्सी बैठक बसेकाे थियो।

एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार ‘कू’यता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ। यसैबीच, नेत्री आङ सान सूकीविरुद्ध देशको गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ। आमनिर्वाचनमा सूकीको नेश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो।




प्रतिक्रिया