अमेरिकाले सेनालाई दिन लागेको जहाज र हेलिकोप्टर सहयोग पुरानै प्रतिवद्धताको कार्यान्वयन

अमेरिकाले सेनालाई दिन लागेको जहाज र हेलिकोप्टर सहयोग पुरानै प्रतिवद्धताको कार्यान्वयन


काठमाण्डु – अमेरिकी सरकारले नेपाललाई ठुलो मात्रामा सैनिक सहयोग दिने भएको छ । नेपाली सेनालाई अमेरिकाले दुई वटा जहाज (स्काई ट्रक ) र दुई वटा हेलिकोप्टर दिने भएको हो । गत साता नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा श्रोतसम्बन्धी उपविदेशमन्त्री रिचाडै वर्माले सहयोग विपद् र प्रतिकार्यका लागि अनुदान सहयोगस्वरुप नेपाली सेनालाई दिने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा अमेरिकी उपमन्त्री वर्माले नेपाली सेनाको हवाई क्षमता सुदृढ गर्न सहयोग गर्न लागेको बताएका थिए ।

अमेरिकाको विदेशमन्त्रालयकाअुनसार सहयोग अमेरिकाले फरेन मिलिटरी फाइनान्सअन्तर्गत नेपाललाई उपलब्ध गराउनेछ । सहयोगअन्तर्गत १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब ३८ करोड नेपाली रुपैयां बराबरको सहायता अमेरिकाले दिनेछ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव केसीले अमेरिकाले दुई वटा जहाज र दुई वटा वेल हेलिकोप्टर दिन लागेको जानकारी दिए । उनले काठमाण्डुपाटीसंग भने, ‘यो सहयोग पहिले नै भएको छलफल, सहमति र प्रतिवद्धताअनुसार हो । यसले अहिले आएर पूर्णता पाएको हो ।’

अमेरिकाले २०१९ मा नेपाली सेनालाई दुई वटा एम २८ स्काई ट्रक उपलब्ध गराएको थियो । २ करोड २४ लाख बराबरको स्काई ट्रक सेनाले पोल्याण्डबाट प्राप्त गरेको थियो । सेनाले अरु दुई स्काई ट्रक पोल्याण्डबाट नै ल्याउने भएको हो । अमेरिकाले दिने हेलिकोप्टरको नाम वेल हो ।

अमेरिकाले दिन लागेको कार्गो प्लेन २३ सय किलो सामान बोक्न सक्ने र २१ जना यात्रु बोकेर २५ हजार फिटमा उडान भर्न सक्ने क्षमताको छ । सेनाले जहाज फौज बोक्नुका साथै उद्दार कार्यमा र प्यारा जम्प र सामान ढुवानीका लागि प्रयोग गर्दै आएको छ ।

अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापन, तालिम र प्रविधिमा लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकाले सैन्य सहयोग इण्डो प्यासेफिक रणनीतिअन्तर्गत दिने भनेपछि सेनाले सहयोग लिन त्यो बेला आनाकानी गरेको थियो । अहिले दिने सहयोगको बारेमा भने दुवै देशको आधिकारीक तहबाट कुनै प्रतिक्रिया आएको छैन् ।

सेनाको हवाई महानिर्देशनालयसंग भएको जहाज र हेलिकोप्टरको अवस्था नाजुक छ । हाल सेनासंग जहाज र हेलिकोप्टर गरेर जम्मा १८ वटा रहेकामा ८ वटा मात्र चालु अवस्थामा छन् । सेनाले बनाउन दिएको दुई वटा एम आई १७ हेलिकोप्टर नेपाल ल्याउनुपर्ने समय भए पनि सम्झौताविपरीत अहिलेसम्म भारतमै अलपत्र रहेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले हेलिकोप्टर मर्मतका नाममा सेनाको हवाई महानिर्देशनालयका अधिकारीहरुको रायविपरीत भारत पठाएका थिए । तर, अहिलेसम्म पनि त्यो हेलिकोप्टर बन्ने, नबन्ने टुंगो नलागेको सैनिक स्रोत बताउँछ । प्रधानसेनापति शर्माले कमिशनको लोभमा दुई हेलिकोप्टर भारत पठाएको भन्दै सेनाभित्रै आलोचना हुने गरेको छ ।

सेनाले करिव १ अर्ब रुपैया खर्च गरेर हेलिकोप्टर मर्मत गर्न खोजेको हो । अमेरिकाले रसियामा बनेको हेलिकोप्टर खरिद नगर्न दबाब दिंदै आएको छ । त्यतिमात्र हैन मर्मतका लागि समेत हेलिकोप्टर रसिया पठाउन खोज्दा रकम पठाउन सेनाले समस्या भोगिरहेको छ ।