काठमाण्डु– नेपाली सेनाले २७ वटा आर्मोड पर्सनल क्यारियर (एपीसी) खरिदको प्रक्रिया अघि बढाएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाउनका लागि सेनाले एपीसी खरिद प्रक्रिया अघि बढाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भर्खरै सम्पन्न भएर नयां सरकार बन्ने प्रक्रिया सुरु हुनुअघि नै सेनाले २७ वटा एपीसी खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याएको स्रोतले बतायो ।
सेनाले चिनियां कम्पनी नोरिन्कोबाट एपीसी खरिदको लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो । प्रधानसेनापति प्रभुराम शर्मा, नोरिन्कोका नेपाली प्रतिनिधि उमेश श्रेष्ठ र सेनाका सहायकरथी सन्तोषबल्लभ पौडेल यो प्रक्रियामा संलग्न छन् । सेनाले खरिदका लागि सरकारलाई पत्राचार गरेपनि निर्णय भने अझै हुन् सकेको छैन ।
सेनाले खरिद गर्न लागेको एपीसीको मुल्य समेत बजार मुल्यभन्दा धेरै रहेको बताइन्छ । यसमा ठुलो कमिसनको खेल रहेको स्रोतको दावी छ । सेनाले नोरिन्कोबाट ५ लाख ९५ हजार डलर बरावर मुल्यमा एपीसी खरिद गर्न लागेको छ । यसको बजार मुल्य ४ लाख डलर जति पर्ने भएपनि महंगोमा एपीसी खरिद गर्न लागिएको हो ।
चिनियां कम्पनी नोरिन्कोको सेनामा विवादित छवि छ । उसले नेपाली सेनालाई अहिले पनि वर्षोसम्म सम्झौतावमोजिम सामान दिन नसकेको गुनासो सैनिक अधिकारीहरुको छ । नोरिन्कोले सामान नदिएपछि अहिलेसम्म सेनाले आधा रकम समेत रिलिज गरेको छैन ।
तर, सेनाले मिलेमतोमा नोरिन्कोलाई एपीसी दिने गरी प्रक्रिया अघि बढाएको हो । यसअघि सेनाले यही कम्पनीबाटै २०१९ मा ६३ वटा एपीसी खरिद गरेको थियो । जुन एपीसीमा समस्या आएको भन्दै सेनाका अधिकारीहरुले असन्तुष्टि जनाएका थिए ।
‘नोरिन्कोबाटै एपीसी किन्न प्रधानसेनापति सक्रिय हुनुभएको छ । उहांको यसमा के स्वार्थ छ हामिले बुझ्न सकेका छैनौं ।’ सेनाका एक उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।
नोरिन्को कम्पनीका एसिया प्यासेफिक विजनेश म्यानेजर झाओ कुसी चुनावअघि नेपाल भ्रमणमा आएका थिए । उनले त्यो बेला सेनाका उच्च अधिकारी र राजनीतिक नेतृत्वसंग भेटवार्ता समेत गरेका थिए । उनले प्रधानसेनापति शर्मासंग समेत सैनिक मुख्यालयमा भेटवार्ता गरेका थिए । भेटमा प्रधानसेनापतिले सम्झौताअनुसार रोकिएको सामान पठाउन आग्रह गरेका थिए । नोरिन्कोका प्रतिनिधिले सेनाले दिन बांकी रकम उपलब्ध गराउन अनुरोध गरेको सैनिक स्रोत बताउंछ ।
शर्मालाई नोरिन्कोका नेपाली प्रतिनिधि श्रेष्ठले भेटेर खरिदका लागि प्रक्रिया अघि बढाइदिन पटक पटक आग्रह गरेको स्रोत बताउंछ । उनकै सेटिङमा सेनाले एपीसी खरिद गर्न लागेको हो । सेनाले ४ वटा एपीसी भारतको महेन्द्रा डिफेन्स कम्पनीबाट जी टु जी अन्र्तगत खरिद प्रक्रिया अघि बढाइसकेको छ । महेन्द्राको एपीसी नेपाली सेनामा पहिलो पटक प्रयोग गर्न लागिएको हो । मालिमा कम्वोडियन सेनाले यो एपीसी प्रयोग गरिरहेको छ ।
नेपाली सेनाले पनि मालिमा पठाउन यो एपीसी खरिद गर्न लागेको हो । भारतिय प्रधानसेनापतिको नेपाल भ्रमण र शर्माको भारत भ्रमणमा एपीसी खरिदबारे छलफल भएको थियो । भारतले नेपाली सेनाले १० वटा एपीसी उपहारस्वरुप दिएको थियो ।
सेनाले त्यतिमात्र होईन संक्रमणको फाइदा उठाएर ६ अर्ब ५० करोड बरावरको डवल बेस प्रोपेलेण्ट प्लाण्ट स्थापनाको लागि आवश्यक मेशिनरी तथा प्लाण्ट खरिद गर्ने प्रक्रिया समेत अघि बढाएको छ । संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीले यसमा विचौलियाको काम गरिरहेका छन् । स्वीजरल्याण्डमा कार्यालय रहेको वआसस नामक कम्पनीबाट प्लाण्ट खरिदको काम अघि बढाइएको हो । कार्की अहिले हुण्डिको काममा समेत सक्रिय छन् भने सिंगापुरमा आफ्नै नाममा कम्पनी खोलेर कारोबार गरिरहेका छन् ।
प्रधानमन्त्रीका नातेदारको दबावमा यो प्रक्रिया अघि बढाइएको स्रोतले दावी गरेको छ । यो प्लाण्टको प्रविधि फेजआउट भइसकेको र मानविय स्वास्थ्यमा समेत यसले गम्भिर असर गर्ने भएकाले यो लिन नहुने मत समेत सेनाका प्राविधिकहरुको छ । तर, प्रधानसेनापति शर्मा भने यो खरिदका लागि सक्रिय रहेको बताइन्छ ।




प्रतिक्रिया