काठमाण्डु – नेपाली सेनाको रथी पदमा सिताराम खड्काको नाम सिफारिस भएको छ । सैनिक मुख्यालयले रिक्त एक रथी, दुई उपरथी र ६ सहायकरथीको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
सेनाका सेकेण्डम्यान बलाधिकृत रथी बालकृष्ण कार्की बिदामा बसेसंगै रथीमा सैनिक तालिम महानिर्देशनालयका उपरथी खड्काको नाम सिफारिस भएको हो । यही असोज २६ मा अवकास पाउन लागेका कार्की गत मंगलबारबाट बिदामा बसेका थिए । सेनामा अवकास पाउनु १५ दिनअघि बिदा बस्ने प्रचलन छ ।
उपरथी खड्का सेनाको सबैभन्दा सिनियर उपरथी हुन् । अमेरिकाबाट नेशनल डिफेन्स (एनडीसी) कोर्स गरेका खड्का हाल सेनाको सैनिक तालिम महानिर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
२५ बेसिकका सैनिक अधिकृत खड्काको रथीमा बढुवा भएसंगै उनलाई बलाध्यक्षको जिम्मेवारी दिइनेछ । हाल बलाध्यक्षरथी रहेका सरोजप्रताप राणालाई बलाधिकृतरथीको जिम्मेवारी दिने तयारी छ । राणा पनि आगामी वर्ष अवकासमा जांदैछन् ।
सैनिक मुख्यालयले सैनिक कल्याणकारी महानिर्देशनालय(काज सुदुरपश्चिम पृतना) मा रहेका सहायकरथी विजय थापा र नेपाली सैनिक वार कलेजमा रहेका सहायकरथी आश बहादुर तामाङलाई उपरथी बढुवाका लागि सिफारिस गरेको छ ।
त्यसैगरी महासेनानीहरु सुनिल घले,ललित बहादुर कुंवर, मोहन क्षेत्री,धनबहादुर थापा,रोशन खड्का र सोबन्द्र सिंह महत सहायकरथी बढुवाका लागि सिफारिस भएका छन् । बढुवाका लागि शुक्रबार सात दिने सूचना समेत प्रकाशित भएको छ ।




प्रतिक्रिया