आज राष्ट्रिय सभा निर्वाचन,१९ सिटमा ५१ उम्मेदवार

आज राष्ट्रिय सभा निर्वाचन,१९ सिटमा ५१ उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा सदस्यको निर्वाचन बिहीबार हुँदैछ । रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जानकारी दिएको छ। सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्।

कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।