काठमाण्डु – नेपाली सेनाका रथी बालकृष्ण कार्की बिदामा बस्ने तयारीमा छन् । सेनाको भाइस चिफ अफ आर्मी स्टाफ कार्कीले मंगलबार बिदामा बस्ने जानकारी दिएको सैनिक स्रोत बताउंछ । २४ बेसिकका कार्की सेनाको बलाधिकृतरथी छन् ।
हाल सेनामा दुई जना रथीको दरबन्दी छ । अर्का रथी सरोजप्रताप राणा छन् । उनि बलाध्यक्षरथीको जिम्मेवारीमा छन् ।कार्कीको नियमित कार्यकाल यही असोज २६ गते सकिंदैछ । सेनामा १५ दिनअघि बिदा बस्नपर्ने परम्परा छ । त्यही परम्पराअनुसार उनि बिदामा बस्न लागेका हुन् ।
कार्कीले अवकास पाएसंगै वरियताको आधारमा उपरथी सिताराम खड्काको नाम तीन तारे जर्नेलमा सिफारिस गर्ने सैनिक मुख्यालयको तयारी छ । उनि सेनाको सबैभन्दा सिनियर उपरथी हुन् । अमेरिकाबाट नेशनल डिफेन्स (एनडीसी) कोर्स गरेका खड्का हाल सेनाको सैनिक तालिम महानिर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
खड्काको रथीमा बढुवा भएसंगै उनलाई बलाध्यक्षको जिम्मेवारी दिइनेछ । हाल बलाध्यक्षरथी रहेका सरोजप्रताप राणालाई बलाधिकृतरथीको जिम्मेवारी दिने तयारी छ । राणा पनि आगामी वर्ष अवकासमा जांदैछन् । उनको म्याद थपको तयारीका लागि प्रयास भएपनि उमेर नभएका कारण उनको पदावधि थप्ने सम्भावना भने कम छ ।
सेनामा भावि प्रधानसेनापतिको खेल उनकै पदावधि थपसंग समेत जोडिएकाले त्यो हुने सम्भावना नरहेको सैनिक स्रोत बताउंछ । सेनामा उनको अवकासपछि हुने रथी नै हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्नेछन् । राणाको अवकासपछि उपरथी ताराध्वज पाण्डे र अशोक सिग्देल सेनापतिको लाइनमा छन् ।
उनिहरुमध्ये यो विचमा कुनै तलमाथि भएन भने पाण्डे नै रथी बन्नेमा छन् । दुवै जर्नेलहरुको उपरथीको पदावधि समेत थप भइसकेको छ । पाण्डे सेनाको सम्भाररथी विभागको प्रमुखबाट भर्खरै सरुवा भएका छन् ।
अर्का प्रतिस्पर्धी अशोक सिग्देल अहिले सेनाको नीति महानिर्देशनालय हांकीरहेका छन् । दुवै जनाले अहिले अनावश्यक भेटघाट समेत बन्द गरेका छन् । सिग्देल पनि सम्भारको प्रमुख भइसकेका हुन् । प्रधानसेनापति शर्माको कार्यकाल अझै दुई वर्ष बांकी रहेकाले अहिले नै प्रधानसेनापतिको जोड घटाउ गर्नु हतार हुने देखिन्छ ।
यो विचमा दुवै उपरथीहरुको कार्यसम्पादनले नै भावि प्रधानसेनापति को बन्ने भन्ने कुराको टुंगो लगाउनेछ । सैनिक ऐनअनुसार सेनामा प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषदले प्रधासेनापति नियुक्त गर्ने व्यवस्था भएकाले शर्माले गर्ने निर्णय नै अन्तिम हुनेछ ।
प्रधानसेनापति शर्माले पाण्डेलाई अपरेशन र सिग्देललाई नीतिको जिम्मेवारीमा राखेर काम गराइरहेका छन् । दुवैलाई सन्तुलनमा राखेर समान जिम्मेवारी दिएकाले समेत अहिले नै नेतृत्वको रोजाइमा को पर्छ भन्न कठिन छ ।
यता, सेनामा उपरथी गोकुल भण्डारीले समेत अवकास पाउंदैछन् । सेनाको उपरथी हुने लाइनमा विजय थापा,आश बहादुर तामाङ, कृष्णदेव भट्ट र सुदर्शन सिलवाल छन् । थापालाई पृतनापतिको जिम्मेवारी सेनाले दिइसकेको छ । उता सेवादलमा समेत रघु भण्डारीको कार्यकाल सकिंदैछ ।
सेवादलमा अवकासप्राप्त जर्नेल सुरेश कार्की, विज्ञानदेव पाण्डे, अवकासमा जान लागेका गोकुल भण्डारी र इश्वरकान्त मैनाली दौडमा छन् । तिमध्ये कार्कीले राजनीतिक वृतमा समेत दौडधुप सुरु गरेको सैनिक स्रोत बताउंछ । सेवा दलको प्रमुख प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषदले तोक्ने गर्दछ । कार्कीले आफुलाई प्रधानसेनापतिको निकटका रुपमा चिनाउंदै आएका छन् ।




प्रतिक्रिया