नवीना लामालाई के भयो ? किन लेखिन् फेसबूकमा ७ घण्टामा ३ वटा पोस्ट ?

नवीना लामालाई के भयो ? किन लेखिन् फेसबूकमा ७ घण्टामा ३ वटा पोस्ट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेत्री एवं पूर्वसांसद नवीना लामाले शनिबार केही घण्टाको फरकमा सामाजिक सञ्जाल फेसबूकमा ३ वटा पोस्ट गरिन् ।

३ वटै पोष्टमा उनले नेतृत्वको आलोचना र चुनावमा पार्टी हारको समीक्षा नगरी बाह्य कारण औंल्याएर उम्किन नमिल्ने आशय व्यक्त गरेकी छन् ।

पहिलो पोस्टमा लामाले नेता–कार्यकर्ताले गायक रामकृष्ण ढकाल अभिनित चलचित्र ‘मालती मंगले’ बहिष्कार अभियान चलाएकामा आपत्ति जनाएकी छन् । एमाले कार्यकर्ताले सामजिक सञ्जालमा ढकाललाई ‘खरानी ग्याङको सदस्य’को संज्ञा दिएर चलचित्र बहिष्कार अभियान चलाएका हुन् । उनले बहिष्कारको साटो बहस, समीक्षा र सुधारको बाटो एमालेका लागि हितकर हुने उल्लेख गरेकी छन् ।

जनताको विश्वास किन घट्यो ? इमानदार कार्यकर्ता किन निराश भए ? विचार र विधिभन्दा गुट र स्वार्थ किन हाबी भयो ? भन्ने आत्मसमीक्षा नगरी अरूमाथि मात्र आक्रमण गरेर समाधान नआउने उनको भनाइ छ । ‘खरानी झ्याङको फिल्म बहिष्कार गर्ने अभियान चलाउनेहरूभन्दा पहिले पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने गम्भीर समीक्षा आवश्यक छ । जनताको विश्वास किन घट्यो, इमानदार कार्यकर्ता किन निराश भए, विचार र विधिभन्दा गुट र स्वार्थ किन हावी भयो भन्ने आत्मसमीक्षा नगरी अरूमाथि मात्र आक्रमण गरेर समाधान आउँदैन,’ लामाले लेखेकी छन्, ‘विचारसँग असहमति हुन सक्छ तर बहिष्कार र दबाबको राजनीतिभन्दा बहस, समीक्षा र सुधारको बाटो रोज्नुपर्छ । आखिर मनपरीशैली कति समयसम्म चलाउने ?’

एक टेलिभिजन अन्तर्वार्तामा ढकालले जेनजी आन्दोलनको दोस्रो दिन २०८२ भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी  रवि लामिछानेलाई आफ्नो गाडीमा राखेर घर लगेको र चालक आफू नै रहेको बताएपछि ढकाल सामाजिक सञ्जालमा ‘ट्रोल’को शिकार भएका छन् ।

लामाले दोस्रो पोस्टमा देश जलाउने धम्की दिनेहरूलाई किन बहिष्कार गरिएन ? भन्ने प्रश्न गरेकी छन् । पार्टी अध्यक्षसहित शीर्ष नेतालाई चुनावमा जनताले किन पराजित गरे भन्दै उनले पार्टीभित्रका विचारहीन, स्वार्थी र जनताबाट टाढिएको प्रवृत्तिबारे कठोर समीक्षा हुनुपर्ने बताइन् । अन्यथा जनताले दिएको चेतावनी आगामी दिनमा थप अस्वीकारमा बदलिन सक्ने लामाको तर्क छ । ‘किन पार्टी अध्यक्षदेखि शीर्ष नेतासम्मलाई जनताले हराएर पठायो ? पार्टीभित्र बसेका विचारहीन, स्वार्थी र जनताबाट टाढिएका प्रवृत्तिमाथि कठोर समीक्षा गर्नुपर्छ । नत्र जनताले दिएको चेतावनी भोलि अझ ठूलो अस्वीकारमा बदलिनेछ,’ लामाले भनेकी छन् ।

तेस्रो पोष्टमा लामाले पार्टी कसैको बाबुको पेवा नभएको भन्दै आक्रोश पोखेकी छन् । अरुले जे गरे पनि आफू सहेर नबस्ने भन्दै लामाले आफूलाई कसैले टिपेर सांसद वा अखिलको अध्यक्ष नबनाएको दाबी गरेकी छन् । आफूले सबै कमिटी पार गरेर यहाँसम्म आएको भन्दै उनले  गुट र समूहमा लाग्नुपर्ने बाध्यता तथा आफ्नो रोजाइको विषय रहेको उल्लेख गरेकी छन् । सास रहुञ्जेल पार्टीभित्रका गलत कुरा, अन्याय र विकृतिको विरोध गरिरहने भन्दै लामाले एमालेको इतिहास, योगदान र जनताको विश्वास जोगाउनु आफूहरूको दायित्व भएको स्पष्ट गरेकी छन् ।

पार्टी कुनै गुट वा व्यक्तिको निजी सम्पत्ति नभएको पनि उनले लेखेकी छन् । ‘कम्रेड हो, तपाईँहरूका बुबाको पेवा त हाम्रो पार्टी होइन नि ? तिमीहरू जे गरे पनि सहेर बस्ने मान्छे म होइन । मलाई पार्टीमा कसैले टिपेर सांसद वा अखिलको अध्यक्ष बनाएको होइन, म सबै कमिटी पार गरेर यहाँसम्म आएको हो । गुट र समूहमा लाग्नुपर्ने मेरो बाध्यता थियो । मेरो रोजाइको विषय थियो,’ लामा लेख्छिन्, ‘मेरो सास रहुञ्जेल म पार्टीभित्रका गलत कुरा, अन्याय र विकृतिको विरोध गरिरहनेछु । एमालेको इतिहास, योगदान र जनताको विश्वास जोगाउनु हाम्रो दायित्व हो, कुनै गुट वा व्यक्तिको निजी सम्पत्ति होइन । हेक्का राख्नुस्, सत्य बोल्नेहरू बाँचे भने मात्रै संगठन बलियो हुन्छ ।’