गठबन्धनको सरकार बनेदेखि राजनीतिमा नैतिकताको खडेरी पर्‍यो: सांसद सिलवाल


काठमाण्डु –  नेकपा एमालेका सांसद नवराज सिलवालले सत्ता गठबन्धनको सरकार बनेदेखि राजनीतिमा नैतिकताको ठूलो खडेरी परेको बताएका छन् । प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरू मिलेर राजस्व र करमा घोटाला गरेको हो कि भन्ने शंका उब्जिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले अर्थमन्त्री जनार्दन शर्माले राजस्व र करमा गरेको घोटालाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत व्यापक आलोचना हुँदा प्रधानमन्त्री आँखा चिम्लिएर बसेको बताएका हुन् ।

केही दिन यता अर्थमन्त्री शर्मा पनि रिल्याक्स मुडमा देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका नेताहरूकै मिलेमतोमा कर र राजस्वमा घोटाला गरेको त होइन ? भन्दै प्रश्न गरे । ‘अर्थमन्त्रीले  घोटाला गरेको विषयमा सदनदेखि अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रश्नहरू उठेका छन् ।  आलोचना भइरहेको छ, तर प्रधानमन्त्री मौन किन ? सदनमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु पर्दैन ?,’ उनले भने,  ‘केही दिनदेखि अर्थमन्त्री पनि रिल्याक्स मुडमा देखिनुहुन्छ, कतै प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरूबीच कै मिलेमतोमा घोटाला गर्नुभएको त होइन ?’

जनार्दन शर्मा नै अर्थमन्त्री चाहिने हो भने नैतिकताका आधारमा प्रधानमन्त्रीले  सदनमा आएर जवाफ दिनुपर्ने सांसद सिलवालको भनाई छ । उनले अर्थमन्त्री शर्माले कर र राजस्वमा घोटाला गरेको विषय अन्तराष्ट्रिय मिडियामा समेत आइसकेको भन्दै उनले यसलाई ख्याल ख्यालको रूपमा लिन नहुने बताए ।  ‘अर्थमन्त्रीले घोटाला गरेको विषय न्युओर्क टाइम्सलगायत विभिन्न अन्तराष्ट्रिय मिडियाले छापिसके । पर्सि प्रधानमन्त्री ज्यू अमेरिका भ्रमणमा जाँदैुहुनुहुन्छ, घोटाला गर्ने अर्थमन्त्री किन नहटाएको भनेर अमेरिकी पत्रकारहरूले सोध्यो भने के जवाफ दिनुहुन्छ, कि भाग्नुहुन्छ ?,’  उनले प्रश्न गर्दै भने ।
 

प्रतिक्रिया दिनुहोस
Advertisement