काठमाण्डु- महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना र लिज प्रकरणमा जोडिएका ३७ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन अध्यक्षहरु गोपाल रसाईली, पल्टु राना, र पुष्कल चौधरीविरुद्ध बुधवार मुद्दा दायर गरेको हो ।
नगर विकास समितिका तत्कालिन अध्यक्षहरु, कर्मचारी, मालपोत कार्यालयका तत्कालिन प्रमुख तथा अधिकृतहरु तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगमा तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो ।
अख्तियारले विज्ञप्ती जारी गर्दै निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको देखिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘ नगर विकासको जग्गा हिनामिना गर्नेमा काममा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुको हकमा देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । ’
आयोगले तत्कालीन सदस्य सचिव चन्द्र प्रसाद चौधरी, नगर विकास समिति तत्कालीन नायव सुब्बा पुष्पराज भट्ट, तत्कालीन अमिन तुलादत्त जोशी, तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्ण कुमार निरौला, तत्कालीन मालपोत अधिकृत विशन सिंह थापा, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भण्डारी, तत्कालीन मालपोत अधिकृत शंकर बहादुर विष्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत दलजित भट्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत जय बहादुर विष्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत घनश्याम दत्त विष्ट, मालपोत कार्यालय तत्कालीन नायब सुब्बा गणेश बहादुर ऐर, मालपोत कार्यालय तत्कालीन नायव सुब्बा नयन सिंह कुँवर, मालपोत कार्यालय तत्कालीन नायव सुब्बा भिम सिंह रावल, मालपोत कार्यालय तत्कालीन खरिदार नरेन्द्र वहादुर ऐर, मालपोत कार्यालय तत्कालीन खरिदार नमराज भट्ट, नापी कार्यालय तत्कालीन प्रमुख नापी अधिकृत मोहन चन्द ठकुरी र नापी कार्यालय तत्कालीन नापी अधिकृत पुष्पराज जोशीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।





प्रतिक्रिया