कठमाण्डु – भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेको विषयलाई लिएर नागरिक अगुवाहरुले आपत्तिजनक भएको बताएका छन् ।
प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने पनि नागरिक अगुवाले बताएका छन् ।
शनिबार २३ जना नागरिक अगुवाहरूले एक विज्ञप्ती जारी गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने समेत बताएका छन् ।
नेपालले गत मे महिनामा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै यो भारतबाट नेपालमा भएको “पहिलो उच्चस्तरीय भ्रमण“ भएको हो । दुई देशबीचको सम्बन्ध ’सामान्य नरहेको अवस्थामा’ गुप्तचर निकायका प्रमुख आफैँ नेपाल आएर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुको गहिरो अर्थ रहेको विज्ञहरुले बताउंदै आएका छन् ।
’परराष्ट्र मन्त्रालयका अधिकारी समेत नराखी’ गरिएको भनिएको गोप्य वार्ताले झन् सत्तारूढ दलका नेताहरूलाई नै झस्काइदिएको विश्लेषकहरू बताउँछन्। भारतीय पक्षमा पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको भन्दै चिन्ता बढेको अनि नेपाल पक्षमा भने भारतसँग संवादको ढोका खुला गर्न चाहेको अवस्थामा भ्रमण भएको हुनसक्ने भए पनि यसले दीर्घकालीन रूपमा नेपाललाई प्रभाव पार्न सक्ने बताइएको छ ।
‘‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी सहित शिष्टाचार भेट हुनु पर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नु भयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन’ अपिलमा भनिएको छ ।
अपिल:
विषय: ‘रअ’ प्रमुखको आपत्तिजनक भ्रमण बारे
छिमेकी मुलुक भारतसँगको विद्यमान सीमा विवादका बारेमा नेपाल सरकारले कुटनीतिक तहमा औपचारिक वार्ताका लागि बारम्बार गरेको पत्राचार प्रति पूर्ण वेवास्ता गरेको छिमेकी मुलुकका वैदेशिक गुप्तचर मामिला सम्बन्धी संस्था (रअ) का प्रमुखको कोरोना महामारीको तीव्र विस्तारको चपेटामा परेको र अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा विशेष विमानबाट रहस्यमय ढङ्गले नेपालमा आगमन, कुटनैतिक माध्यम र मर्यादाको पुर्ण बेवास्ता गरी प्रधानमन्त्री आफैले मध्यरातसम्म गोप्य रुपमा लामो कुरा गरेको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचारमा प्रतिबिम्बित सरकारको लापरवाहीपूर्ण कार्यशैलीले आम नागरिकलाई चिन्तित बनाएको छ।
‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो, प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कुटनीतिक कार्यविधि अनुसारको कुटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसंग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भन्ने जस्ता गम्भीर प्रश्नहरू अनुत्तरित रहेको यस रहस्यमय भ्रमणका बारे एउटा सार्वभौम मुलुकको सचेत नागरिकका हैसियतले हामीले चासो राखेका हौँ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार मार्फत जारी प्रेस नोटमा रअ प्रमुखको प्रधानमन्त्रीसँगको भेटलाई ‘शिष्टाचार भेट’ भनिएको छ। एक विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई कुटनैतिक भाषामा कसरी शिष्टाचार भेट भन्न सकिन्छ?
प्रधानमन्त्रीले विदेशी गुप्तचर निकायका प्रमुखलाई भेट्नै हुदैन भन्ने आग्रह हाम्रो हुँदै होइन। तर प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी सहित शिष्टाचार भेट हुनु पर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नु भयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन।
छिमेकी मुलुकहरूमा उक्त गुप्तचर संस्थाका गतिविधिले निम्त्याएका घटना सुखद छैनन्। नेपाल लगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिकामा रहिआएको संस्थाका प्रमुखसँग अन्य कुनै पदाधिकारी वा नेताबाट गैरकुटनैतिक भेटघाट भएमा त्यस्ता गतिविधिलाई निरुत्साहित र नियन्त्रित गर्नुपर्ने प्रमुख दायित्व भएको मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैले गैरकुटनैतिक र आफैले जारी गरेको कुटनैतिक आचार संहिता विपरित भेटघाट गरेकोले हामीलाई थप चिन्तित बनाएको हो। यस्ता कुटनैतिक मर्यादा विपरितका क्रियाकलाप विगतमा जो कोहीबाट भएका थिए भने पनि ति गलत नै थिए, र त्यस्ता गतिविधि नियन्त्रण हुन अनिवार्य छ, र यसका लागि प्रधानमन्त्री स्वयंकै प्रमुख भुमिका हुन्छ। विगतमा कसैका यस्तै गल्तीलाई आधार बनाएर मुलुकको कार्यकारी प्रमुख स्वयंले गरेका यस्ता गोप्य भेटघाट र अबाञ्छित गतिविधिको औचित्य पुष्टि गर्ने प्रयास हुन्छ भने त्यो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुनेछ।
छिमेकीसँगको सम्बन्ध सुधार कुटनैतिक माध्यमबाट सबै नेपाली जनताको जनभावना तथा समर्थनको बलमा गर्ने हो न कि गोप्य र अपारदर्शी गुप्तचर निकायसँगको सल्लाहमा। जनताले छिमेकीसँग अझ घनिष्ट, सुदृढ र सौहार्दपूर्ण सम्बन्ध बनाउने अपेक्षा गरेका समयमा प्रधानमन्त्रीबाटै यस्तो अवाञ्छित गतिविधि हुनुलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौँ। यसका लागि नेपाल सरकारको कुटनीतिक लापरवाही, ठुलो छिमेकीको मिचाहा प्रवृत्ति र त्यसलाई मलजल गर्ने नेपाली राजनैतिक नेतृत्वको राष्ट्रिय हीत विपरितको कार्य जिम्मेवार छ भन्ने हाम्रो धारणा छ। प्रचलित कुटनीतिक अभ्यासको उल्लङ्घन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरिएको यो भ्रमणले यस्ता थुप्रै गम्भीर प्रश्न उठाएको छ।
सुसुचित हुन पाउने संवैधानिक अधिकार प्राप्त सार्वभौम नेपाली नागरिकले नेपाल सरकारबाट माथिका प्रश्नको इमानदार र स्पष्ट जवाफ तत्काल खोजेका छन्। लोकतान्त्रिक सरकारले जनउत्तरदायित्वको यो न्युनतम दायित्व निर्वाह गरोस भन्ने हाम्रो आग्रह छ।
नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमा बारम्बार ठाडो हस्तक्षेप आमन्त्रण गर्ने र वैदेशिक दासता स्वीकार्ने नेपालको राजनीतिक प्रवृत्ति प्रति हामी गंभीर आपत्ति प्रकट गर्न चाहन्छौं। राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र हाम्रो राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुकका गतिविधिका विरूद्धमा निरन्तर खबरदारी गर्न समाजका हरेक तप्का र आम जनसमुदायमा हामी अपील गर्दछौँ।
१- उमाशंकर प्रसाद
२- दिपेन्द्र बहादुर क्षेत्री
३- देवेन्द्र सिटौला
४- द्वारिका नाथ ढुङ्गेल
५- धन कुमारी सुनार
६- निगम हुमागाईं
७- निर्मला ढकाल
८- पीताम्बर शर्मा
९- बीणा झा
१०- डा. भरत प्रधान
११- भैरव रिसाल
१२- मानवी पौडेल
१३- डा. महेश मास्के
१४- युवराज संग्रौला
१५- रमेश खरेल
१६- लीलामणि पौडेल
१७- डा. शरद वन्त
१८- सरिता तिवारी
१९- डा. सरोज धिताल
२०- सूर्यनाथ उपाध्याय
२१- सूर्यराज आचार्य
२२- हरि रोका
२३- त्रिलोक सिंह थापा क्षेत्री




प्रतिक्रिया