काठमाण्डु – सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै १७ लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ ।
महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी वित्तीय अनुशासन उल्लङ्घन गरेको पाइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
तर, महालेखा परीक्षकको प्रतिवेदनअनुसार कोडैना गाउँपालिकाले सो प्रावधान उल्लंघन गर्दै ‘विविध खर्च’ शीर्षकमा१६ लाख ९६ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।
प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ खाना, खाजामा१० लाख र वडा स्तरमा खाजा र खानामा ६ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । तर, सो रकम कहाँ, कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने पुष्टि गर्ने कुनै प्रमाण कागजात संलग्न नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा नियन्त्रक कार्यालयले जारी गरेको वर्गीकरण र व्याख्या २०७४ अनुसार ‘विविध खर्च’ शीर्षकमा केवल मनोरञ्जन, अतिथि सत्कार, सुरक्षा, प्रतिनिधिमण्डल स्वागत जस्ता सीमित खर्च मात्र गर्न सकिने व्यवस्था छ । तर, कोडैनामा सो प्रावधानको मर्म विपरीत अत्यधिक खर्च भएको देखिएको छ ।




प्रतिक्रिया